Logo

गृहमन्त्रालयले भन्यो- देशभरिमा ७७ को मृत्यु, २७ बेपत्ता



काठमाडौं, कात्तिक ४ । केही दिनदेखिको बेमौसमी वर्षाका कारण बाढी, पहिरो र डुबानमा परी देशभरिमा ७७ जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ । गृहमन्त्रालयकी सहसचिव हुमकला पाण्डेले राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रमा हिजो राति ८ बजेसम्मको तथ्यांक अनुसार २७ जना बेपत्ता, २२ जना घाइते र ३० वटा घर पूर्ण क्षति भएको जानकारी दिइन् ।

आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै सहसचिव पाण्डेले भनिन्, “अपुष्ट खबरलाई हामी मृत्युमा राख्दैनौं । जस्तैः पाँचथरमा ३२ जनाको मृत्युको सूचना छ । तर आधिकारिक रुपमा २४ जनाको मात्र विवरण आएको छ । बझाङमा २१ जना बेपत्ता छन्, २ जनाको मात्र शव भेटिएको छ ।”

गृहमन्त्रालयले स्थानीय तह, सुरक्षा निकाय आदिको समन्वयमा सूचना आदानप्रदान, जोखिमको बस्तीलाई नजिकको सुरक्षित स्थानमा राख्ने, टेन्ट, पाल, खाद्यान्न लगायत राहत उपलब्ध गराउने आदि कार्य गरिरहेको उनले बताइन् । लाइफलाइनका रुपमा रहेका राजमार्ग बन्द हुने र खुल्ने क्रम जारी रहेको र आपत्कालीन उद्धारका लागि हेलिकोप्टर स्ट्यान्डबाई रहेको पनि जानकारी दिइन् ।

कृषि बालीमा भएको क्षतिको लगत कृषि मन्त्रालयले तयार गर्ने र त्यसपछि रातहत विवरण गरिने पनि उनले बताइन् । पाण्डेले भनिन्, “गृहमन्त्रालय फोकल मन्त्रालयका रुपमा छ । तराई एवं पहाडी जिल्लामा धानबालीमा भएको क्षतिको विवरण आइसकेपछि राहत वितरणका लागि पहल हुन्छ ।” आजदेखि मौसममा सुधार हुने देखिएको उनले बताइन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot