Logo

जोखिम न्यूनीकरणमा सरकारी लगानी पुगेनः कार्यकारी प्रमुख अनिल पोखरेल



राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले मौसम पूर्वानुमान गर्न नसकेकाले अहिले धनजनको अल्कपनीय क्षति बेहोर्नुपरेको बताएका छन् । साथै उनले जोखिम न्यूनीकरणमा लगानी गर्न सक्दा यस्ता क्षतिबाट सुरक्षित हुन सकिने उनको दाबी छ ।

आज बिहान रेडियो नेपाली नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै पोखरेलले भने, “जोखिम न्यूनीकरण हुन सक्छ भन्ने उदाहरण जापान र न्यूजिल्यान्ड नै छन् । हामीले पनि यसमा लगानी गर्दै जान सक्यौं भने १० वर्षभित्र क्षति घटाउन सक्छौं ।”

प्राधिकरणले राहत, उद्धार पुनःनिर्माणलगायतका काम विभिन्न सुरक्षा संयन्त्र, स्थानीय तह, संघसंस्था, मिडियालायतको सहभागितामा गरिरहेको उनले बताए । उनले भने, “कात्तिकमा मनसुन सकिएपछि यति भयानक बाढीपहिरो आउला भन्ने अनुमान नै गरेका थिएनौं । विज्ञान र प्रविधिले पनि हामीलाई पूर्वानुमान दिएन । पूर्वदेखि पश्चिमसम्म विमानस्थल डुबानमा परे । धानबालीमा ठूलो नोक्सानी भयो । धनजनको क्षति भयो । सडक, सञ्चार, विद्युत् अवरुद्ध भयो । समयमै फोरकास्ट हुन सकेको भए यत्रो क्षति हुने थिएन ।”

पोखरेलले हाम्रो भूबनोट नै जोखिमपूर्ण रहेको बताए । उनले भने, “हाम्रो समृद्धिको कारक नै मनसुन हो । साथै यसको कालो पाटो पनि छ । कृषि बिमाको व्यवस्था हुन सक्दा सरकार र किसानलाई भार पर्दैन । २०७४ मा सवा अर्ब लगानी गरेर किसानको हाँसो फर्काएका थियौं । यस पटक पनि कृषि मन्त्रालयले क्षतिको विवरण दिएपछि राहत दिन सकिन्छ ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot