Logo

ईश्वर पोखरेल एमाले वरिष्ठ उपाध्यक्षको मुख्य दाबेदार



काठमाडौं, ६ कात्तिक । नेकपा एमालेको १०औं महाधिवेशनमा १५ पदाधिकारीमा नेताहरुको दाबी चलिसकेको छ । अध्यक्षमा केपी शर्मा ओली प्रतिष्पर्धीविहिन जस्तै रहेका छन् । उनी पक्षधर हस्ती नेताहरुले १०औं महाधिवेशनमा ओली निर्विकल्प भएको बताइसकेका छन् ।

ओलीको पक्षमा महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य सुवास नेम्वाङलगायत हस्ती नेताहरु छन् । तर, यी तीन नेताहरु मुख्य पदाधिकारी बन्ने दौडमा छन् ।

पोखरेल आफूलाई ओलीको उत्तराधिकारीका रुपमा उभ्याउन खोजिरहेका छन् । नवौं महाधिवेशनमा महासचिव निर्वाचित पोखरेलको ध्यान वरिष्ठ उपाध्यक्षमा रहेको छ । एमालेमा जो वरिष्ठ उपाध्यक्ष निर्वाचित हुन्छ उही भावी अध्यक्षका रुपमा अगाडि बढ्ने सम्भावना छ ।

विधान महाधिवेशनले पहिलोपटक वरिष्ठ उपाध्यक्षको व्यवस्था गरेको हो । यो पद एमालेको दोस्रो वरियताको पद हो । यसको अर्थ ओलीपछिको अध्यक्ष बन्ने सम्भावना वरिष्ठ उपाध्यक्षकै हुन्छ । यसमा महासचिव पोखरेल अग्रपंक्तिमा छन् ।

उपप्रधानमन्त्री भइसकेका पोखरेल काठमाडौंबाट निर्वाचित सांसद हुन् । उनको एमालेको संगठनमा बलियो पकड छ । तर, उनको खास बलियो गुट भने छैन । यो उनका लागि कठिन चुनौती देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot