Logo

गौतमबुद्ध विमानस्थलमा क्यालिब्रेशन उडान सम्झौता छिटै



काठमाडौं, कार्तिक १० । भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा क्यालिब्रेशन उडान गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण र भारतको एयरपोर्टस् अथोरिटी अफ इन्डिया (एएआई)सँग छिटै सम्झौता हुने भएको छ ।

प्राधिकरणको बोर्ड बैठकले क्यालिब्रेशन उडानका लागि सोमवार एएआईलाई पत्राचार गरेसँगै अबको १० दिनभित्रमा उडानका लागि सम्झौता हुने भएको हो ।

प्राधिकरणका नवनियुक्त महानिर्देशक राजकुमार क्षत्रीले प्राधिकरणको बिहीवार बसेको बोर्ड बैठकले निर्णय गरेको र सोमवार नै सम्झौताका लागि पत्राचार गरिएको जानकारी दिए । ‘भारतलाई पत्र पठाइएको छ, बिहीवारको बैठकले निर्णय गरेको र सोमवार भारतको सम्बद्ध निकायलाई पठाइएको छ, कम्पनीले ८/१० दिनमा प्राधिकरणसँग सम्झौता गर्नेछ,’ उनले भने, ‘त्यसको १ महीनाभित्र नै क्यालिब्रेशन उडान गर्नेगरी गृहकार्य गरिएको छ ।’

क्यालिब्रेशन प्mलाइट (उडान) रनवे सही छ, कि छैन, लाइटिङ प्रणाली, हवाई सञ्चार अर्थात् टावर कम्युनिकेशन, ल्यान्डिङलगायतमा कुनै समस्या छ कि छैन र राडरहरूको पोइन्ट स्पष्ट देखिन्छ कि देखिँदैन भन्नेलगायत विषय पत्ता लगाउन गरिन्छ । यस्तो उडान सफल भएपछि त्रिभूवन अन्तरराष्ट्रिय विमानस्थलको विकल्प तयार हुनेछ । थाइ एरोसँग गरिएको क्यालिब्रेशन उडानको सहमति रद्द गर्दै प्राधिकरणले भारतको उक्त निकायसँग सम्झौता गर्दै छ ।

यसैगरी, उनले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थललाई सञ्चालनयोग्य बनाएर प्राधिकरणबाट बिदा हुने योजनामा रहेको बताए । हाल निर्माणको अन्तिम चरणमा पुगी सञ्चालन गर्न सकिने उक्त विमानस्थल र पोखरा अन्तरराष्ट्रिय विमानस्थलका साथसाथै केही अन्य विमानस्थलको स्तरोन्नति पनि आफ्नो प्राथमिकतामा रहेको उनले बताए । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको सुधारदेखि अर्को ठूलो आयोजना पोखरा विमानस्थलको रिठेपानीको डाँडा कटानसम्मको कार्यलाई ठोस रूप दिने उनको योजना रहेको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot