Logo

‘गुन तिर्छु’ भन्दै प्रचण्डले गरे प्रधानन्यायाधीश जबरालाई महाभियोग लगाउने संकेत



काठमाडौं, १५ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग लगाउने संकेत गरेका छन् । उनले नेपाल बार एशोशिएसनको ज्ञापनपत्र बुझ्दै त्यस्तो संकेत गरेका हुन् । प्रचण्डले सभामुख अग्निप्रसाद सापकोटा फर्किएपछि छलफल अगाडि बढ्ने भन्दै महाभियोगसम्मको तयारीको संकेत गरे ।

बारको आन्दोलनप्रति घुमाउरो तरिकाले समर्थन रहेको जनाउ दिदै प्रचण्डले भने,‘तपाईंहरुले बल गर्नुभएको छ । यसले न्याय क्षेत्रको ठूलो विसंगतिको अन्त्य हुन्छ ।’
न्याय क्षेत्रमा विकृति रहेको भन्दै प्रचण्डले यो विषयको अन्तर्राष्ट्रियकरण भइसकेको बताए । आफूले यूएन मिसनसँग पनि यसबारे कुरा गरेको खुलाए । उनले भने,‘यूएन मिसनसाग कुरा गर्दा पनि यो विषय उठेको छ । यसबारे गम्भीर छौं भन्न खोजेका छौं ।’

प्रचण्डले नेपाल बार एशोशिएसनका पदाधिकारीलाई गुनको पैचौं तिर्ने वचन दिए । प्रतिनिधि सभा पुनःस्थापनामा कानुन व्यवसायीहरुले ठूलो गुन लगाएको उल्लेख गर्दै भने,‘तपाईहरुको गुनको पैचौं तिर्नुपर्छ । कार्यपालिकाले ऋण तिनुपर्छ भन्ने बोध छ ।’ दलहरुले न्यायपालिकाको विषयमा छलफल गर्दै आएको समेत बताए ।

नेपाल बार एशोशिएसन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको माग गर्दै आन्दोलनमा छ । बारले शिर्ष नेताहरुलाई भेटेर जबराविरुद्ध महाभियोग ल्याउन माग गर्दै ज्ञापनपत्र बुझाउने अभियान चलाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot