Logo

लेखामापन प्रणालीमा समस्या



काठमाडौं, मंसिर २१ । स्थानीय तहभित्र भएको उपलब्धिलाई राष्ट्रिय प्रणालीसँग आबद्ध गर्ने संयन्त्र अहिलेसम्म निर्माण हुन सकेको छैन । उक्त संयन्त्रको अभावमा स्थानीय तहमा भएका भौतिक र मानवीय विकासको उपलब्धि सङ्घीय सरकारको तथ्याङ्कमा अभिलेखीकरण हुन सकेको छैन ।

स्थानीय तहमा भएका सडक, खानेपानी, ढल, सामुदायिक भवन, विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन क्षेत्रको विकास र सोबाट रोजगारीको सिर्जनालगायतका उपलब्धि राष्ट्रिय प्रणालीसँग आबद्ध गर्न नसकिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहसचिव विष्णुदत्त गौतमले स्थानीय तहमा भएका उपलब्धि राष्ट्रिय प्रणालीमा जोड्ने संयन्त्र कुन निकायले बनाउने भन्ने अन्योल भएको बताए ।

उनका अनुसार महालेखा नियन्त्रकको कार्यालयले स्थानीय तहमा भएको खर्चको विवरण सूत्रको माध्यमबाट आउने व्यवस्था गरेको छ । उक्त खर्चबाट के के उपलब्धि भयो भन्ने सूत्रमा देखिँदैन । राष्ट्रिय योजना आयोगले स्थानीय तहको तथ्याङ्कसहितको विवरण तयार पार्दै छ । सङ्घीय मामिला मन्त्रालय स्थानीय तहको सम्पर्क मन्त्रालय भए पनि अहिलेसम्म संयन्त्र निर्माण गर्न सकेको छैन ।

स्थानीय तहको उपलब्धि राष्ट्रिय प्रणालीसँग आबद्ध गर्न नसक्दा सङ्घीय र प्रदेश सरकारले स्थानीय तहमा पठाएको बजेटको उपलब्धि के के भए भन्ने अभिलेखीकरण हुन सकेको छैन । संयन्त्र अभावमा सरकारले एकमुष्ट रूपमा तीनै तहमा भएका मानवीय र भौतिक विकासको तथ्याङ्क निकाल्न नसक्ने मन्त्रालयले जनाएको छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot