Logo

पौडेल, सिंह र कोइरालाद्वयले काँग्रेस सभापतिमा साझा उम्मेदवारी दिए देउवालाई कठिन



काठमाडौं, २१ मंसिर । नेपाली काँग्रेसको संस्थापन इतर समूह निकै दबाबमा परेको छ । सभापति शेरबहादुर देउवाले देशभरको प्रदेश तहसम्मको नतिजाबाट उत्साही भई अर्को कार्यकाल पार्टी नेतृत्व गर्ने उद्घोष गरेपछि इतर समूह दबाबमा परेको हो ।

देउवाले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग एलायन्स गरेर देशभर सफलता हासिल गरे । अब उनले सिटौलासँग मिलेर नै सभापतिको उम्मेदवारी दिने तयारी गरेका छन् । तर, देउवालाई सबैभन्दा ठूलो चिन्ता इतर समूहको सम्भावित एकताको छ । इतर समूह एक भई इमान्दारपूर्वक लागेमा देउवालाई सभापति जित्न कठिन हुनेछ ।

देशभरको मत परिणाम हेर्दा सभापतिका आकांक्षी वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा.सशांक कोइरालाले गण्डकी र लुम्बिनीमा बलियो पकड बनाएका छन् । त्यहाँ संस्थापन पक्षलाई इतर समूहले पछाडि पारेको छ ।

प्रदेश १ मा डा. शेखर कोइरालाले संस्थापनसँग उस्तै अवस्था बनाएको छ । त्यहाँ देउवा र सिटौला मिल्दा पनि इतर समूहसँग केही मतले पछाडि छ । इतर समूहका केन्द्रीय सदस्यहरुले प्रदेशमा मतदान नगरेकोले मात्र पछि परेको हो ।

बागमती प्रदेशमा पूर्वमहामन्त्री प्रकाशमान सिंहले विगतभन्दा बलियो पकड बनाएका छन् । बागमतीमा सिटौला पक्ष विगतभन्दा कमजोर भएको छ । प्रदेश चुनावको नतिजामा संस्थापनले जितेपनि महाधिवेशन प्रतिनिधिमा इतर समूह केही मतले अगाडि देखिन्छ ।

सुदूरपश्चिम प्रदेशमा देउवा निकै बलियो स्थितिमा छन् । कर्णालीमा केही बलियो छन् । यो मतलाई केलाउँदा प्रदेश २ को मत निर्णायक हुनसक्छ । प्रदेश २ मा देउवा ढुक्क छैनन् । त्यहाँको ठूलो मत कुनैपनि बेला फरक धारमा पल्टनसक्छ । प्रदेश २ को ८ सय मतमध्ये कम्तिमा साँढे ३ सय मत आफ्नो पक्षमा पार्न सके देउवा सफल हुनसक्छन् । तर, त्यसमध्ये केही मत तल पर्ने वित्तिकै सभापतिको प्रतिष्पर्धा कठिन हुनसक्छ ।

देशभरको मतको आँकडा हेर्दा पौडेल, सिंह र कोइरालाद्वय एक भएर साझा उम्मेदवार तय गरेमा परिस्थिति बदलिन सक्छ । त्यतिबेला निधि निर्णायक शक्ति बन्नेछन् । उनले जसलाई साथ दियो उही सभापति जित्ने अवस्था बन्छ ।

सम्भवत इतर समूहका ४ नेताका लागि गुट छाड्ने ढोका लगभग बन्द भइसकेको छ । प्रदेश १ मा शेखरले देउवा र सिटौलाको प्यानलसँग लड्नुपर्यो । बागमतीमा प्रकाशमानका सामु त्यस्तै चुनौती आयो । सशांक कोइरालाले पनि देउवा सभापति हुँदा निरिह महामन्त्री बनेर बस्नुपरेको थियो । पौडेल यसै पनि देउवाका मुख्य प्रतिद्वन्द्वी हुन् ।

अब ४ नेता मिलेर साझा उम्मेदवार खडा गर्न पावर सेयरिङको विषय बढिसकेको छ । यसमा सहमति बनेमा माहोल फरक दिशामा जानसक्छ । त्यसपछि निधिको भूमिका मुख्य हुन्छ । देउवा त्यो महोल बन्न नदिन सक्रिय छन् । ४ नेता मिलेमा राजनीतिको पासा रातारात पल्टनसक्छ । काँग्रेसको चुनाव राप्रपाको जस्तै रातारात पल्टन सक्छ ।

राजनीतिक संरक्षणको खोजीमा रहेका काँग्रेसको केही सय मत जुन शक्ति बलियो हुने देखिन्छ त्यतै पल्टन सक्छ । संस्थापन पक्षको एकताले त्यो सम्भावना बढाउनसक्छ । तर, नेताहरुमा राजनीतिक इमान्दारिता चुनावका बेलामा रहन्छ या रहँदैन मुख्य विषय हुनसक्छ । एकले अर्कालाई अस्वीकार गर्ने र अन्र्तघात गर्ने परिपाठीले जसलाई पनि धक्का पर्न सक्छ । तर, संस्थापन पक्षभित्र ४ नेताबीच इमान्दार एकता भई साझा उम्मेदवार तयार भएमा देउवाका लागि सभापति पद मुश्किल पर्न सक्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot