Logo

सुजाताले उपसभापतिमा बाजी मार्लिन् ?



काठमाडौं, २५ मंसिर । नेपाली काँग्रेसकी नेता सुजाता कोइरालालाई पूर्वमहामन्त्री प्रकाशमान सिंहको प्यानलबाट उपसभापतिमा उम्मेदवारी दिन लाग्दा धेरैले आश्चर्य मानेका थिए । कोइराला र सिंहबीच लामो समययता सम्बन्धमा निकटता पनि थिए । तर, एकाएक सुजाता सिंहको प्यानलबाट उम्मेदवार बनेर राजनीतिमा तरंग ल्याइदिइन् ।

सुजाता पूर्वउपप्रधानमन्त्री हुन् । नेपाली राजनीतिका शिखरपुरुष गिरिजाप्रसाद कोइरालाकी छोरी । पिता लामो समय शक्तिमा रहँदा सुजाताले पार्टीभित्र पनि बलियो प्रभाव बनाएकी थिइन् । उनलाई अझै पनि साथ र समर्थन दिने ठूलो तप्का काँग्रेसभित्र छ । यसकारण पनि कोइराला बलियो उम्मेदवार हुन् ।

काँग्रेसभित्र उपसभापतिको उम्मेदवारमध्ये सुजाता कोइराला र विजयकुमार गच्छेदार उपप्रधानमन्त्री भइसकेका मध्ये हुन् । दुवैसँग लामो राजनीतिक अनुभव छ ।

कोइराला र गच्छेदार फरक प्यानलबाट उम्मेदवार छन् । कोइराला सिंहको र गच्छेदार देउवाको प्यानलबाट उम्मेदवार छन् । उनीहरुसँगै दुई उपसभापतिका लागि पूर्णबहादुर खड्का देउवा प्यानलबाट उम्मेदवार छन् । डा. शेखर कोइरालाको प्यानलबाट चन्द्र भण्डारी र धनराज गुरुङ उम्मेदवार छन् ।

उपसभापतिको उम्मेदवारी हेर्दा सुजाता सिनियरमध्ये देखिन्छिन् । उनी बलियो उम्मेदवार रहेको सिंहको प्यानलमा रहने वित्तिकै बढेको प्रभावले पनि देखाउँछ । सुजाताले उम्मेदवारी दिएलगत्तै आफू उत्साही भएको बताएकी छिन् । उनले चुनाव जित्ने दाबी गरेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot