Logo

काँग्रेसको नम्बर एक महिला नेता बन्ने दौडमा सुजाता



काठमाडौं, २६ मंसिर । निर्वाचित भएमा सुजाता कोइराला नेपाली काँग्रेसको इतिहासमा पहिलो महिला निर्वाचित उपसभापति बन्नेछिन् । यसकारण पनि काँग्रेसको १४औं महाधिवेशन उनका लागि निकै महत्वपूर्ण छ ।

नेपाली काँग्रेसको इतिहासमा अहिलेसम्म कुनैपनि महिला सभापतिको पदमा पुगेका छैनन् । काँग्रेसमा महिला नेताहरुको अहिलेको अवस्था हेर्दा नेतृत्वमा पुग्न अझै समय कुर्नुपर्ने देखिन्छ । सभापतिमा कुनैपनि महिलाले उम्मेदवारी दिएनन् । दाबेदार देखिएकी सुजाता कोइराला पनि अन्तिम समयमा उपसभापतिको उम्मेदवार बनिन् ।

काँग्रेसभित्र यो पनि ठूलै आँट हो । विमलेन्द्र निधिको प्यानलबाट दिव्येश्वरी साहले उम्मेदवारी दिएकी छिन् ।

काँग्रेसमा महामन्त्रीमा कुनैपनि महिलाले उम्मेदवारी दिएका छैनन् । सहमहामन्त्रीमा भने उम्मेदवारी दिएका छन् ।

काँग्रेसभित्र प्रभावशाली महिलाहरुको संख्या निकै कम छ । त्यसमध्ये सुजाता कोइराला हुन् । निडरता, मनमा लागेको प्रष्ट बोल्ने, कोइराला परिवारको सदस्य हुनु, उपप्रधानमन्त्री भइसकेको अनुभव र कार्यकर्तालाई संरक्षण गर्ने स्वभावका कारण सुजाता कार्यकर्तामाझ लोकप्रीय छिन् । यसकारण निर्वाचित भएर काँग्रेसको नम्बर एक महिला नेता बन्ने सुजातामा जोस देखिएको छ । उनी भन्छिन्,‘म नेपाली काँग्रेसको मात्र नभई सबै नेपाली महिलाको प्रतिनिधित्व गर्दै पार्टीभित्र र बाहिर महिलाको हरेक निकायमा समान प्रतिनिधित्वका लागि लड्नेछु ।’

कोइरालाले यसपटक आफ्नो मूल नारा नै पार्टीभित्र र बाहिर महिलालाई समान प्रतिनिधित्वको सुनिश्चितता भएको बताइन् । उनले बाँकी जीवन पनि महिलाको अधिकारका लागि आफूलाई समर्पित गर्ने बताइन् ।

सुजाताले आफ्नो उम्मेदवारी काँग्रेसमा रहेका महिलालाई नेतृत्वमा पुर्याउन प्रेरणा मिलोस् र आम नेपाली महिलालाई राजनीतिमा प्रोत्साहन होस् भन्ने रहेको बताइन् । उनले महिलालाई हेर्ने दृष्टिकोणमा आमूल परिवर्तन ल्याउनुपर्ने बताउँदै काँग्रेसको महाधिवेशनमा महिलाको उत्साहपूर्ण सहभागिताबाट आफू उत्साही भएको बताइन् । उनले भनिन्,‘काँग्रेस अब महिलाले हाँक्ने दिन टाढा छैन ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot