Logo

भारतको केरल राज्यमा १२ घण्टाभित्र दुई नेताको हत्या, धारा १४४ लगाइयो



एजेन्सी, ४ पुस। १२ घण्टाभित्र भारतको केरल राज्यस्थित अलाप्पुझा जिल्लामा दुई नेताको हत्या भएको छ । भारतीय जनता पार्टी र सोसल डेमोक्रेटिक पार्टीका नेताहरुको हत्या भएको हो ।

हिजो (शनिबार) राति सोसल डेमोक्रेटिक पार्टी (एसडीपीआई) का प्रान्तीय सचिव केएस शानको हत्या भएको १२ घण्टाभित्रै भाजपाका नेता रेनजिथ श्रीनिवासनको हत्या भएको भारतीय समाचार माध्यमहरुले जनाएका छन् ।

राति घर जाने क्रममा चक्कु प्रहार गरी शानको हत्या गरिएको थियो । कारमा आएको एक समूहले शान चढेको मोटरसाइकललाई हिर्काएपछि उनीमाथि चक्कु प्रहार भएको थियो । चक्कु प्रहारबाट गम्भीर घाइते उनलाई तत्कालै कोची अस्पतालमा लगिएको तर उपचारका क्रममा उनको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ ।

त्यस्तै आइतबार बिहान मर्निङ वाकका लागि बाहिर निस्कने तयारी गरिरहेका बेला श्रीनिवासनको हत्या भएको छ । एक समुहले धारिलो हतियारबाट उनीमाथि प्रहर गरेको थियो। गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

भाजपाको ओबीसी मोर्चाका प्रान्तीय सचिवसमेत रहेका श्रीनिवासन हालै सम्पन्न विधानसभा चुनावमा उम्मेदवार थिए । दुई नेताको हत्या लगत्तै अलाप्पुझा जिल्लामा फौजदारी कानुनको खण्ड १४४ अन्तर्गत सोमबारसम्म निषेधाज्ञा लागू गरिएको छ ।

भाजपा र एसडीपीआईले एकअर्कामाथि हत्याको दोष लगाएका छन् । भाजपाका प्रान्तीय अध्यक्ष के सुरेन्द्रनले ६० दिनको अवधिमा आफ्ना ३ जना नेताको निर्मम हत्या भएको र आततायी समूहले राज्यलाई अस्थिर बनाउन खोजेको बताएका छन् । उक्त विषयममा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot