Logo

कालीकोटमा सुधारिएको धुवाँरहित चुलो वितरण



मान्म, ७ पुस । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र खुमलटार काठमाडौँको सहयोगमा कालीकोटको शुभकालिका गाउँपालिका–१ छाती गाउँमा सुधारिएको धुवाँरहित चुलो वितरण गरिएको छ । गाउँपालिकाका दलित तथा जनजाती २१० परिवारलाई सुधारिएको धुवाँरहित चुलो वितरण गरिएको हो ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र खुमलटार काठमाडौँले शतप्रतिशत अनुदानमा सुधारिएको चुलो वितरण गरेको स्थानीयवासी दीपक चौलागाईले जानकारी दिए । यो पूर्णरुपमा सरकारले अनुदान दिएको छ ।

उनले भने, “गाउँपालिकाभित्रका दलित, जनजाती र विपन्न परिवारलाई वितरण गरिएको हो ।” परम्परागत चुलो प्रयोग गर्दा श्वाशप्रश्वास रोग बढ्दै गएको दुर्गम तथा पिछडिएको क्षेत्रमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले सुधारिएको चुलो वितरण गर्दै आएको स्थानीयवासी जवानसिंह सुनारले जानकारी दिए ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँगको समन्वयमा सुधारिएको चुलो वितरण गरिएको हो । उनको यसमा कुनै शुल्क नलागेर निःशुल्क वितरण गरिएको हो । परम्परागत चुलोलाई विस्थापित गर्न र विपन्न महिलाको स्वास्थ्यप्रति सचेत भई दाउरालगायत अन्य इन्धनको कम खपत हुने धुवाँरहित र छिटो पकाउन सकिने वडाध्यक्ष वीरबहादुर बुढाले बताए । यो चुलोबाट खाना पकाउनका लागि सजिलो भएको छ ।

गत आर्थिक वर्षमा सो गाउँपालिकाका दलित तथा जनजाती समुदायका ३९० घरपरिवारलाई निःशुल्क सुधारिएको फलामे चुलो वितरण गरिएको थियो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको लक्षित समुदायलाई बायोऊर्जा कार्यक्रमअन्तर्गत सुधारिएको धुवाँरहित फलामे चुलो वितरण गरिँदै आएको छ । अति विपन्न, एकल महिला, दलित, जनजातीलाई वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले वैकल्पिक ऊर्जाका साधन वितरण गर्दै आएको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot