Logo

देउवा जित्नुको रहस्य



काठमाडौं, १० पौष । नेपाली काँग्रेसका सभापतिमा शेरबहादुर देउवा दोस्रोपटक निर्वाचित हुँदा पार्टीवृत्तमा यसलाई स्वाभाविक रुपमा लिए । अन्य पदाधिकारीमा नयाँ अनुसार आएपनि देउवाले सभापतिमा बाजी मारे । आखिर देउवाले बाजी मार्नुको कारण के हो ? धेरैका लागि चासो बनेको छ ।

कार्यकर्ताको संरक्षण
देउवा कार्यकर्ताको संरक्षण गर्न पछि पर्दैनन् । उनले निकटस्थलाई महत्वपूर्ण अवसर दिदै आएका छन् । दुःख पाएका कार्यकर्ताको परिवारलाई पनि बेवास्ता गर्दैनन् । उदाहरणका लागि माओवादीबाट मारिएका भक्तपुरका नेता राधेश्याम जोन्छे पत्नी रजनी जोन्छे बागमती प्रदेशको राज्यमन्त्री बनिन् । देउवाले भक्तपुर पुगेर केही हप्ता अघि बाचा नै गरेका थिए । जोन्छेलाई माओवादी कार्यकर्ताले २०५९ सालमा गोली प्रहार गरेका थिए । उपचारका क्रममा उनको मृत्यु भयो ।

रजनी जोन्छेलाई समानुपातिकतर्फ प्रदेश सांसद बन्ने अवसर दिलाए । देउवाकै पहलमा उनी राज्यमन्त्री बनिन् ।

देउवाले आफूलाई लामो समययता साथ दिदै आएका बालकृष्ण खाँणलाई गृहमन्त्री बनाए । खाँणको पार्टीमा बलियो पकड छ । ज्ञानेन्द्रबहादुर कार्कीले पनि उनलाई निरन्तर साथ दिदै आएका छन् । उनलाई पनि अवसर प्रदान गर्दै आएका छन् ।

गृहक्षेत्रमा पकड
देउवाले सुदूरपश्चिममा पकड गुम्न दिएका छैनन् । डडेलधुरामा उनी निकै शक्तिशाली छन् । त्यहाँबाट २०४८ सालयता निरन्तर चुनाव जित्दै आएका छन् ।

सुदूरपश्चिमेलीलाई उनी कर्मचारीतन्त्रमा महत्वपूर्ण अवसर दिन पछि पर्दैनन् । त्यसका लागि जोखिम समेत मोल्छन् । जयबहादुर चन्दलाई तेस्रो नम्बरको डिआइजी हुँदा आइजीपी बढुवामा उनले त्यसै गरे । पछि चन्द अख्तियारको आयुक्त बने । त्यसमा उनकै भूमिकाको चर्चा चल्ने गरेको छ । यसकारण पनि उनको सुदूरपश्चिममा बलियो पकड बन्ने गरेको छ ।

देउवाकै कारण सुदूरपश्चिमका जिल्लाहरुमा काँग्रेस बलियो अवस्थामा छ । उनी त्यस भेगकाहरुलाई महत्वपूर्ण अवसर आउँदा प्राथमिकतामा राख्छन् । यसले उनलाई पार्टीको आन्तरिक चुनावमा पनि फाइदा पुग्यो ।

मन्त्री बनाउँदा पनि अन्य दल वा पार्टीको इतर पक्षका सुदूरपश्चिमेलीलाई प्राथमिकतामा राखे । प्रेमबहादुर आले नेकपा एसबाट पर्यटनमन्त्री बने । दिलेन्द्रप्रसाद बडु काँग्रेसको इतर पक्षबाट कानुनमन्त्री बने । उनीहरुप्रति देउवा सकारात्मक देखिए । मन्त्रिमण्डलमा सुदूरपश्चिमबाट राम्रो संख्याको प्रतिनिधित्व देखियो । यसले पनि उनलाई पकड बनाउने आधार बन्यो ।

कम बोल्ने
देउवा असाध्यै कम बोल्छन् । उनी अधिकतम ५ मिनेट भाषण गर्छन् । उनी भाषणमा भन्दा काममा बढी समय दिन्छन् । सार्वजनिक कार्यक्रमहरुमा कमै पुग्छन् । तर, पार्टी कार्यकर्ता मर्दा पर्दा पुगेका हुन्छन् । यसले पनि कार्यकर्तामाझ उनी लोकप्रीय छन् ।

देउवा कम बोल्ने भएकैले विवादमा कम पर्छन् । उनको विगतको बोलीलाई लिएर विपक्षीले आलोचना गर्ने ठाउँ पाउँदैनन् । उनी जब बोल्छन् तब तरंग नै ल्याइदिन्छन् । ठिक समयमा ठिक तरिकाले अर्थपूर्ण बोली बोल्छन् ।

बफादार टिम
देउवासँग बफादार टिम छ । उनको टिममा रहेका पूर्णबहादुर खड्का, बालकृष्ण खाँण, एनपी साउद, रमेश लेखक जस्ता नेताहरु निरन्तर साथ दिदै आएका छन् । उनीहरु पार्टीभित्र बलियो पकड बनाएकामा पर्छन् । रणनीतिक चार्तुयता पनि छन् । यही टिमको रणनीतिले देउवालाई यसपटक सफल बनायो ।

दोस्रो चरणको सभापतिको प्रतिष्पर्धामा प्रकाशमान सिंह र विमलेन्द्र निधिको साथ पाउन देउवाको टिम सक्रिय भयो । रात विहान नभनी खटिए । देउवाले यसकारण पनि बाजी मारे ।

रणनीतिक चार्तुयता
देउवाले रणनीतिक चार्तुयता पनि देखाए । संस्थापन इतर समूह एकजुट हुन पाएनन् । उनीहरु एक हुन्थे भने देउवालाई सभापति जित्न मुश्किल हुन्थ्यो । विशेषगरी कोइराला परिवार एकजुट हुन सकेनन् । यसको फाइदा देउवाले लिए ।

प्रदेश अधिवेशनहरुमा देउवाले बागमती प्रदेशमा पकड रहेका प्रकाशमान सिंहको साथ पाएका उम्मेदवार जगदीश्वरनरसिंह केसीलाई इन्द्र बानियाँद्वारा हराए । कोइराला परिवारको पकड रहेको प्रदेश १ मा गुरुराज घिमिरेलाई उद्धव थापाद्वारा पराजित बनाए । यसबाट उनको पक्षमा महोल बन्न थाल्यो ।

कृष्णप्रसाद सिटौलाको साथ लिन सके । प्यानल बनाउँदा पनि मिलाएर बनाए । उनले अर्को समूहका नेताहरुसँग राम्रो समन्वय गरेको चुनावी परिणामले देखायो । देउवाको रणनीतिक चार्तुयताले भूमिका खेल्यो ।

शक्तिमा हुनुको फाइदा
देउवा काँग्रेस महाधिवेशन हुँदा प्रधानमन्त्री हुनुले पनि फाइदा पुग्यो । उनलाई सत्ताको लाभ मिल्यो । आन्तरिक सूचनाहरु प्राप्त भयो । शक्तिमा भएका कारण काँग्रेस कार्यकर्ताको आकर्षण पनि उनीप्रति रह्यो । आफू सभापति हारेमा काँग्रेस नेतृत्वको सरकार ढल्ने भन्दै मत मागे । उनी मतदाता नजिक पुगेर भोट मागे । यसले पनि भोट तान्न सके ।

विदेशीले पत्याएका
देउवाको अन्तर्राष्ट्रिय सम्बन्ध राम्रो छ । उनी प्रधानमन्त्री भएपछि बेलायत भ्रमण गरे । त्यहाँ अमेरिकी राष्ट्रपति जो वाइडेन देखि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसम्मलाई भेटे । उनी प्रधानमन्त्री भएपछि कोरोना भाइरसविरुद्धको खोप पनि नियमित आउन थाल्यो । देउवालाई यसकारण पनि विदेशीले पत्याएको सन्देश गयो । यसले पनि काँग्रेस महाधिवेशनमा देउवालाई फाइदा पुग्यो ।

आरजुको भूमिका
देउवाको राजनीतिक जीवनमा पत्नी आरजु देउवाको भूमिका महत्वपूर्ण छ । उनी कार्यकर्ता व्यवस्थापनमा खप्पिस छिन् । राणा परिवारमा हुर्किएकी आरजुले काँग्रेस महाधिवेशनमा देउवालाई जिताउन महत्वपूर्ण भूमिका खेलिन् । उनले अर्को पक्षकालाई समेत भित्री रुपमा साथमा लिन सफल भइन् । यसले पनि देउवाको जितलाई सहज बनायो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot