Logo

पूर्ण खोप लगाएको तीन महिना पुगेका लक्षित वर्गलाई आजबाट अतिरिक्त खोप



काठमाडौं, पुस २० । कोभिड १९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेका व्यक्तिहरूलाई सरकारले आजदेखि थप एक अतिरिक्त खोप लगाउँदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि कोभिड–१९ विरुद्धको खोपको थप एउटा अतिरिक्त मात्रा लक्षित समूहलाई लगाउने तयारी रहेको जनाएको छ ।

बालबालिकाले लगाउने खोप केन्द्रबाहेक अहिले लगाइरहेका सबै खोप केन्द्रबाट अतिरिक्त खोपको मात्रा लगाउने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ । अतिरिक्त खोप लगाउनका लागि लक्षित वर्गले चिकित्सकको सिफारिस तथा खोपको दुईवटा मात्रा लगाएको कार्ड लगेर जानुपर्ने छ।

पहिले जुन खोप लगाएको हो, सोही प्रकृतिको खोप थप अतिरिक्त मात्रा दिइनेछ। यो खोप लगाउने लक्षित बर्गमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, सक्रिय क्यान्सरका रोगी, अङ्ग प्रत्यारोपण गरेका बिरामी, एचआइभी सङ्क्रमण भएका बिरामी, उपचारका क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि सेवन गरिरहेका बिरामी र भेरोसेल वा सिनोफार्म खोप लगाएका ६० वर्ष तथा सोभन्दा माथिका ज्येष्ठ नागरिकलाई खोपको अतिरिक्त मात्रा दिन लागेको मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्