Logo

किटनाशक औषधि उत्पादन गरेको आरोपमा बायोप्लान्टिक प्रालि शिलबन्दी गरी अनुसन्धान सुरु



वीरगञ्ज, १३ माघ: जैविक मल उत्पादन गर्ने स्वीकृति लिएर किटनाशक औषधि उत्पादन गर्ने गरेको आरोपमा बारास्थित शिवशक्ति बायोप्लान्टिक प्रालिमा स्थानीय प्रशासनले शिलबन्दी गरी थप अनुसन्धान सुरु गरेको छ ।

बाराको परवानीपुर गाउँपालिका–४ चैनपुरस्थित प्रालिको कारखानामा शिलबन्दी गरी आवश्यक अनुसन्धान सुरु गरिएको बाराका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईँले जानकारी दिए । जैविक मल उत्पादन गर्ने स्वीकृति लिएर विषादी किटनाशक औषधि उत्पादन गरिरहेको ती उद्योगमाथि आरोप छ । यद्यपि सोबारे अनुसन्धान थालिएको र उद्योगका सबै कागजात माग गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सेढाईँले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय भण्डारा चितवनले गत माघ १ गते करिब रु नौ लाख ८० हजार मूल्य बराबरको अवैध किटनाशक औषधिसहितको ट्रक नियन्त्रणमा लिएपछि उक्त उद्योगको कारोबारबारे जानकारी भएपछि स्थानीइ प्रशासनले अनुसन्धान थालेको हो । उद्योगमा भारतीय नागरिक रामाकान्त भारती, कमलकान्त सिंह र सञ्जीत राय यादवलगायतको लगानी छ । अनुमतिबिना किटनाशक औषधि उत्पादन गरी किसानलाई ठगी गरेको आरोप उद्योग माथि लागेको छ । उद्योगका सञ्चालक सबै सम्पर्कमा नआएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्