– राजेन्द्रप्रसाद पनेरु कञ्चनपुर, २० माघ : कृष्णपुर नगरपालिका–२ का करनसिंह साउद जन्मजात दृष्टिविहीन हुनुहुन्छ । दृष्टिविहीन भएर पनि परिवारकै सहारामा बाँच्न उहाँलाई रुचि भएन । त्यसैले पिठ्युमा कालो झोला बोक्दै सेतो छडीको सहारामा बजार र ग्रामीण क्षेत्रमा करनले ठूलो स्वरमा कराएर अगरबत्ती बेच्दै आउनुभएको छ । यसरी दैनिक ठूलो स्वरमा चिच्याएर सबैलाई आग्रह गरेर बत्ती बेच्ने उहाँको नियमितता भइसकेको छ ।
स्थानीय बासिन्दाले प्राय साउदबाटै अगरबत्ती किन्ने गरेकाले त्यसबाट प्राप्त आम्दानीले परिवारका साथै आफ्नो पनि दैनिक खर्चको जोहो गर्दै आउनुभएको छ । काठमाडौँमा रहेको उज्यालो दृष्टिविहीन प्रगति समूहले उत्पादन गरेको अगरबत्ती करनले बेच्दै आउनुभएको हो । उक्त समूहले उत्पादन गरेको अगरबत्ती प्रतिबण्डल रु ६२० मा खरिद गरी बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । “एक बण्डल बिक्री भए दोब्बर बढी फाइदा हुन्छ”, करनले भन्नुभयो, “घरबाट बिहानै निस्कन्छु र साँझ अबेर घर फर्कने गरेकोे छु । कुनै दिन पूरै बण्डल अगरबत्ती बिक्री हुन्छ । कुनै दिन थोरै हुन्छ । घरको खर्च यसबाटै चलेको छ ।”
“चिसो छ भनेर घरभित्रै बस्नु भएन । काम नगरी कमाइ हँुदैन । चिसोको पर्वाह नगरी बजार र ग्रामीण क्षेत्रमा झोलामा अगरबत्ती राखेर निस्कने गरेको छु । अगरबत्ती आवश्यक भएकाले सडकमा कराएको आवाज सुनेपछि बोलाएर खरिद गर्छन् । हामीलाई माया चाहिएको छैन । कामको सम्मान मात्र गरिदिए पुग्छ”, उहाँको भनाइ थियो ।
“अपाङगता छ भनेर घरभित्रै गुम्सिएर बस्नु हँुदैन”, करनले भन्नुभयो, “सीप सिकेको छ भने त्यसलाई निखार्दै व्यावसायिक बन्न खोज्नुपर्छ । सीप छैन भने पनि सिक्नु पर्छ । जानेको काम गरे पनि पुग्छ । परिवारको बोझ बन्नु हँुदैन । हामी पनि गर्न सक्छौँ भनेर समाजलाई देखाउनु पर्छ ।” दृष्टिविहीन हुनुपरेकामा आपूmलाई चिन्ता नभएको गर्वका साथ बताउनुहुने उहाँले भन्नुभयो मनमा आँट र काम गर्ने दृढ इच्छाशक्ति भए अपाङ्गताले पनि काम गर्नबाट रोक्न सक्दैन ।
हामीजस्ता अपाङ्गता भएका व्यक्तिमा समेत योग्यता, क्षमता भएको कुरा सबैले बुझेदैनन् । राज्यले समेत अपाङ्गता भएका व्यक्तिलाई सीप सिकाउन र निर्खान चाहँदैन । त्यसैले पनि हामीभित्र भएको प्रतिभा प्रस्फुटन हुनसकेको छैन । अपाङ्गता भए पनि सपाङ्गभन्दा कुनै कुरामा कम नभएको करनले जोड दिनुभयो । विगत चार महिनादेखि अगरबत्ती बेच्दै आएको र यसबाट आफूले रु छ हजारदेखि रु १० हजारसम्म कमाइ गर्न सकेको उहाँले बताउनुभयो ।
अगरबत्ती ल्याउनका लागि करनलाई काठमाडौँसम्म पुग्न पर्दैन । शुक्लाफाँटा नगरपालिका–१० झलारीका दृष्टिविहीन इन्द्र रानाले काठमाडौँबाट अगरबत्ती मगाउने गर्नुभएकामा उहाँबाटै करनले पनि अगरबत्ती खरिद गरी बेच्दै आउनुभएको छ । उहाँले भन्नुभयो, “आफ्नो मुहार त म देख्न सक्दिनँ तर देख्न नसक्ने यो मुहारलाई उज्यालो भएको महसुस गर्ने सपना पूरा गर्नका लागि प्रयासरत छु । आफ्नै खुट्टामा उभिएर स्वाभिमानका साथ उभिने लक्ष्य पूरा गर्न यो संसार नछाडुञ्जेल जारी राख्छु ।” अपाङ्गता भएका व्यक्तिलाई समेत करनले स्वरोजगार भएर बाँच्नुपर्ने सुझाव दिँदै आउनुभएको छ ।-रासस/File Photo