Logo

पत्रकारले राष्ट्रियताको पक्षमा जनमत निर्माण गर्नुपर्छ : उपमहासचिव खतिवडा



काठमाडौँ, २२ माघ: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले प्रगतिशील पत्रकारले राष्ट्रियताको पक्षमा जनमत निर्माण गर्नुपर्ने बताएका छन् ।

समाजवादी प्रेस सङ्गठन नेपालको काठमाडौँ जिल्लास्तरीय प्रथम भेलालाई आज सम्बोधन गर्दै उनले अमेरिकन सहयोग परियोजना (एमसिसी) का राम्रा-नराम्रा दुवै पक्षलाई सन्तुलित ढङ्गले अनुसन्धान गरी यथार्थपरक विषयवस्तुलाई पत्रकारले जनतासमक्ष ल्याउनुपर्ने बताए ।

सङ्गठनका इन्चार्जसमेत रहनुभएका खतिवडाले उक्त परियोजना संसद्मा कसरी प्रस्तुत गर्ने, सामान्य बहुमत वा दुई तिहाइ मतले पारित गर्नुपर्ने विषय प्रस्ट नभएकाले त्यससम्बन्धी कार्यविधि बनाउनुपर्ने र राष्ट्रको हितमा नभएका केही राष्ट्रघाती बुँदा भए त्यसलाई हटाउनुपर्नेमा जोड दिए ।

पार्टीका काठमाडौँ जिल्ला अध्यक्ष एवम् बागमती प्रदेशसभा सदस्य कुसुम कार्कीले सामाजिक न्याय, समानता, स्वाभिमानको पक्षमा पत्रकार क्रियाशील हुनुपर्नेमा जोड दिँदै पार्टी सदस्य संरक्षण कोष निर्माणका क्रममा रहेको जानकारी दिए ।

सङ्गठनका संस्थापक अध्यक्ष शम्भु श्रेष्ठले सङ्गठन देशैभर विस्तारका क्रममा रहेको उललेख गर्दै पत्रकारको व्यावसायिक हकहित र अधिकार संरक्षण गर्न आफू प्रतिबद्ध रहेको बताए । पार्टीका केन्द्रीय सदस्य आशिष घिमिरेले विश्व परिवेशमा समाजवादी अर्थ व्यवस्थाको दार्शनिक पक्षका बारेमा उल्लेख गरे ।

उपाध्यक्षद्वय सन्तराम बिडारी, विश्वमणि सुवेदी, महासचिव भूपराज खड्का, उपमहासचिव रामकुमार एलन, कोषाध्यक्ष कृष्णराज गौतम, उपत्यका संयोजक सबिन शर्मा लगायतले उक्त सङ्गठनमा आबद्ध सञ्चारकर्मीको आचरण र व्यवहार सामाजिक हुनुपर्ने, समाजप्रति जिम्मेवार, जनताको सेवा गर्ने भावना तथा चिन्तनको विकास गरी अगाडि बढ्नुपर्ने सुझाव दिए ।

कार्यक्रममा भीम लामाको नेतृत्वमा १७ सदस्यीय काठमाडौँ जिल्ला कमिटी गठन गरिएको छ । सङ्गठनका इन्चार्ज खतिवडाले टीका तथा नेपाल पत्रकार महासङ्घका सचिव गोविन्द चौलागाईंले खादा लगाएर कार्यसमिति सदस्यहरुलाई स्वागत गरेका थिए ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्