Logo

चीनको ‘नाकाबन्दी’ बारे किन बोल्दैनन् ओली, प्रचण्ड र देउवा ?



काठमाडौं, २३ माघ । २०७२ सालको महाभूकम्पपछि थलिएको नेपालमा भारतले नाकाबन्दी लगाउँदा नेता देखि सर्वसाधारणसम्मले चर्को विरोध गरेका थिए । दलहरुबीच अभूतपूर्व एकता समेत देखियो । भारतले ‘नाकाबन्दी’ नलगाएको जवाफ दियो । सीमामा मधेश केन्द्रित दलहरुले अवरोध गरेकाले नेपालको आन्तरिक कारणतर्फ संकेत गरेको थियो ।

अहिले चीनले त्यसैगरी नेपालमाथि ‘नाकाबन्दी’ लगाएको छ । कोरोना भाइरसको महामारीले थलिएको नेपालको अर्थतन्त्रमा चिनियाँ नाकाबन्दीले गम्भीर असरहरु देखिएको छ । चीनले नाकाबन्दी अस्वीकार गर्दै कोभिड १९ को महामारीसँग जुध्ने क्रममा कडाई गनुपर्ने वाध्यता भनेको छ ।

तर, नेपालसँगको व्यापारलाई चीनले सहज बनाएको छैन । सीमामा कडा प्रतिबन्धहरु लगाइएका छन् । चीनले आफ्नो चाहना अनुसारको सामान नेपालतर्फ पठाइरहेको छ । तर, नेपालबाट सामान प्रवेश दिएका छैन । भन्सार विभागको तथ्यांकमा गत आर्थिक वर्ष चीनबाट नेपालतर्फ आयात २८.५८ प्रतिशत बढेर २ खर्ब अर्ब ९२ करोड पुगेको उल्लेख छ । कोरोना भाइरसको महामारी पूर्व २ वर्षअघि २ खर्बको आयात हुन्थ्यो । नेपालबाट भने चीनले जम्मा १ अर्बको सामान मात्र प्रवेश दिएको छ । यसबाट नेपालले ठूलो व्यापार घाटा व्यहोरिरहेको छ ।

चीनले सामानहरुको नेपालतर्फबाट निर्यातमा जति कडाई गरेको छ आयातमा पनि कडाई गरेको छ । जसका कारण चिनियाँ सामानको मूल्य तेब्बर सम्मले वृद्धि भएको छ । मूल्य वृद्धिको मार नेपाली बजारमा परेको छ । चिनियाँ लत्ताकपडा, जुत्ता, इलेक्ट्रिकल सामानलगायतमा व्यापक मूल्य वृद्धि भएको छ ।

भारतको नाकाबन्दीको बखत नेपालमा इन्धनको मूल्य मात्र वृद्धि भएको थियो । तर, चिनियाँ नाकाबन्दीले अधिकांश दैनिक उपभोग्य सामाग्रीको मूल्यवृद्धि भएको छ । कन्टेनरहरुबाट ढुवानीको मूल्य झण्डै दोब्बर भइसकेको छ । मेशिनरी सामाग्री, टेलिकमसम्बन्धी उपकरणहरुको पनि व्यापक मूल्यवृद्धि भएके छ ।

नेपालले हस्तकलाका सामान, धातु, ऊन जस्ता सामाग्री निर्यात गर्दै आएकोमा निर्यात थप्प हुँदा ती उद्दोगहरु धराशायी भएका छन् । देशमा ठूलो संख्यामा रोजगारी गुमेको छ ।

चीनको नाकाबन्दीबारे व्यवसायीले आवाज उठाउँदै आएका छन् । तर, सरकार बोलेको छैन । राजनीतिक दलका नेताहरु मौन छन् । भारतले नाकाबन्दी गर्दा बोल्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मौन छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले पनि सरकारका तर्फबाट केही बोलेका छैनन् ।

चीनको नाकाबन्दी केरुङ र तातोपानी नाकामा मात्र सिमिति छैन । विभिन्न सीमानाकाहरुमा देखिएको छ । स्थानीय व्यवसायीहरु समस्यामा परेका छन् । चीनसँग सीमानाका क्षेत्रका जनप्रतिनिधिहरु चीनको नाकाबन्दीबाट प्रभावित भई बोल्न थालेका छन् । उनीहरुले विगतमा भारतको नाकाबन्दीका बेलामा बोल्ने नेताहरु अहिले चीनको नाकाबन्दीबारे नबोलेकोमा असन्तुष्ट भएका छन् ।



प्रतिक्रिया दिनुहोस्