Logo

नेपाल खेलकुद महासंघद्धारा विभिन्न विधाका खेलाडी सम्मानित



काठमाडौं, ८ फागुन । नेपाल खेलकुद महासंघ (नेकोस)ले खेलाडीलाई सम्मान गरेको छ । संघले एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको आतिथ्यमा ब्याडमिन्टन, पारा तेक्वान्दो र महिला भलिबललगायत विभिन्न विधाका खेलाडीलाई नगदसहित शनिबार सम्मान गरेको हो ।

संघले जुनियर विश्व वरीयताको शीर्ष स्थानमा पुग्न सफल ब्याडमिन्टनका प्रिन्स दाहाललाई प्रशंसा पत्र र १० हजार नगदसहित सम्मान गरेको छ । उक्त अवसरमा खेल प्रेमीले संकलन गरेको २० हजार नगद पनि प्रिन्सलाई प्रोत्साहन स्वरूप हस्तान्तरण गरिएको थियो ।

२०२१ डिसेम्बर २१ देखि ३१ सम्म मित्र राष्ट्र बंगलादेशको ढाकामा सम्पन्न बंगबन्धु एशियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्यालेन्ज कप २०२१ मा स्वर्ण पदक जित्न सफल नेपाली राष्ट्रिय महिला भलिबल टोलीलाई नगद १ लाख सहित प्रशंसा पत्र वितरण गरिएको थियो । साथै नेपाल भलिबल संघलाई प्रशंसा पत्र पनि वितरण गरिएको थियो ।

यसको साथै कार्यक्रममा बहराइनको मानामा भएको चौथो युथ एसियन पारा गेम्समा पदक जित्न सफल ३ पारा तेक्वान्दो खेलाडीसहित ५ सदस्यीय टोली पनि सम्मानित भए ।

स्वर्ण विजेता पलेशा गोवद्र्धनलाई १५ हजार, रजत विजेता सिर्जना घिसिङलाई १० हजार र कास्य विजेता विशाल गर्बुजालाई ५ हजार नगदसहित सम्मान गरियो । प्रशिक्षक कविराज नेगी लामा र टिम व्यवस्थापक नन्दा बस्याललाई पनि नगदसहित सम्मान गरिएको थियो ।

पोखरेल, नेकोसका अध्यक्ष पर्शुराम बस्नेत (कृष्ण) लगायतले उनीहरुलाई सम्मान गरेका थिए । सोही कार्यक्रममा तेक्वान्दोको प्रदर्शनी खेल प्रस्तुत गर्ने नेपाल टाइगरका टोलीलाई प्रोत्साहन स्वरुप राष्ट्रिय खेलकुद परिषद् एवं कार्यकारी बोर्ड सदस्य एकेन्द्र कुँवरले नगद २० हजार प्रदान गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot