मुग्लिन, १९ फागुन । घरघरमा धारा पुगेपछि चितवनको इच्छाकामना गाउँपालिका –६ ढङ्ङ्ग्रेका बासिन्दा खुसी भएका छन् । पुस्तौँदेखि खानेपानी जोहो गर्न घण्टौँ टाढा पुग्नुपर्ने सो गाउँका बासिन्दा घरघरमा धारा पुगेपछि खुसी भएका हुन् ।
ढुग्रे गाउँ र आसपासका गाउँका बासिन्दाले पुस्तौँदेखि खानीपानीको समस्या झेल्दै आएका थिए । श्री माध्यामिक विद्यालय ढुङ्ग्रेका प्रधानाध्यापकसमेत रहनुभएका स्थानीय विश्वनाथ गुरुङले पुस्तौँदेखि खानेपानीको समस्या हल भएकोमा स्थानीय सरकारलाई धन्यावाद दिए ।
पुस्तौँदेखी घण्टौं लगाएर कुवाबाट पानी भरेर उपभोग गरिरहेको यहाँको बासिन्दाले स्थानीय सरकार आएसगैँ घरघरमा धारा आउँदा आफुहरु खुसी भएको बताए । उनका अनुसार यसअघि यहाँ प्रत्येक घरका एक जनाको काम नै दिनभर पानी जोहो गर्नमा लाग्नुपर्ने अवस्था रहेका थिए ।
उनले भने, “एक गाग्री पानी लिन घण्टांै लगाएर धाउनुपर्ने बाध्यता हटेको छ, एक जनाको काम नै बिहान ४ बजेदेखि दिनभर पानीको जोह गर्नुपर्ने हुन्थ्यो पानीको धारा घर–घरमा आगमनै आएपछि गाउँलेले सुखको अनुभूति गरेको गरेको छ ।” वर्षौदेखिको आफूहरुले पहल गरिरहेपनि स्थानीय सरकार आएसँगैँ पूरा भएको उनको भनाई छ ।
गाउँमा खानेपानीको अभाव हटेपछि समयको बचत हुँदा मेलापात घरधन्दा गर्नसमेत सजिलो हुन थालेको स्थानीयवासीको भनाइ छ । आयोजना उपभोक्ता समितिका अध्यक्ष डिलकुमार गुरुङका अनुसार ढुङ्ग्रे तुन्तेष खानेपानी तथा सरसफाइ आयोजना अन्तर्गत ८० घरधुरी रहेको छन् । सो आयोजनाबाट ५१६ जना जनसङ्ख्या लाभान्वित भएका छन् ।
सो आयोजना ८९ लाख ८२ हजार २९६ लागतमा सम्पन्न भएको उनले बताए । गाउँपालिकाको ७८ लाख ६४ हजार स्थानीय उपभोक्ताबाट ११ लाख १८ हजार २९६ बराबरको श्रमदानमा सम्पन्न भएको हो ।
उक्त आयोजनामा वाइनटुवाटर नेपालको प्राविधिक सहयोग रहेको छ । गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले स्थानीय सरकारले एकघर एक धारा अभियानलाई तीव्र पारिएको बताए । गतवर्ष मात्र मोटरबाटो पुगेको सो गाउँमा घरघरमा पानीको धारा पुगेपछि व्यवसायी तरकारी खेती गर्न समेत स्थानीयवासीलाई सहज भएको अध्यक्ष गुरुङको भनाइ छ ।
गाउँगाउँमा मोटरबाटो र पानी धारा पुगेसगैँ व्यवसायी खेती तर्फ स्थानीयवासीालाई आकर्षित गर्न कृषि तालिमका साथै अनुदानका कार्यक्रमसमेत सञ्चालन समेत गरिहेको उनको भनाइ छ । जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामना विशेष गरी तरकारी तथा फलफुलखेतीका लागि उर्वर भूमि मानिन्छ । रासस