Logo

नेपाली कांग्रेस सप्तरीको जिल्ला अधिवेशन हुँदै, कडा प्रतिस्पर्धा हुने अनुमान



सप्तरी, २१ फागुन । नेपाली कांग्रेस सप्तरीको नयाँ नेतृत्वका लागि आज जिल्ला अधिवेशन हुँदैछ ।

सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा हुने अधिवेशनका लागि सभापति पदमा शत्रुधनप्रसाद यादव र रामदेव साह चुनावी मैदानमा रहेका छन् ।

सभापति पदमा उम्मेदवारी दिएका शत्रुधनलाई वर्तमान सभापतिसमेत रहेका केन्द्रीय सदस्य दिनेशकुमार यादवको समर्थन रहेको छ भने सभापतिका अर्का उम्मेदवार रहुनभएका रामदेवलाई सङ्घीय सांसद तेजुलाल चौधरीको समर्थन रहेको बुझिएको छ ।

शत्रुधनको प्यानलबाट उपसभापतिमा रामप्रसाद मण्डल र फत्तेमहम्मद, सचिवमा प्रभुनारायण चौधरी र सनतकुमार मण्डल तथा सहसचिवमा घनश्याम साह घन्सी र मनोज खड्गाले उम्मेदवारी दिएका छन् । त्यस्तै रामदेवको प्यानलबाट उपसभापतिमा रामकुमार यादव र ध्रुवनारायण चौधरी, सचिवमा नन्दकिशोर यादव र दुर्गानन्द यादव तथा सहसचिवमा मो मुश्लिम र रामसुन्दर मण्डलको उम्मेदवारी परेको छ ।

निर्वाचन अधिकृत डा रुद्र शर्माका अनुसार जिल्ला अधिवेशनका लागि कूल दुई हजार ५३५ मतदाता छन् । यसैबीच दुवै उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । यसअघि २० गते तोकिएको मतदान तयारीको समय अपुग भएकाले एक दिनपछि सारिएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्