Logo

जहाँ हुन्छ लुटैलुट



काठमाडौं, फागुन २२ । ‘लुट्नसके लुट कान्छा’ बोलको गीतले केही सरकारी निकाय र कर्मचारीका भ्रष्टाचारजन्य आचरण र लुट प्रवृत्ति चित्रण गरेको छ । सर्वसाधारणलाई प्रभावकारी सेवा दिन छोडेर भ्रष्टाचार र अनियमिततामा चुर्लुम्म डुब्ने केही कर्मचारीप्रति गीतले व्यंग्य गरेको छ ।

प्रभावकारी सेवा दिनुपर्ने निकाय र क्षेत्रमै बढी लुट र भ्रष्टाचार हुने तथ्य अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नै औंल्याएको छ । अख्तियारका अनुसार सर्वसाधारणसँग प्रत्यक्ष सरोकार राख्ने शिक्षा, स्वास्थ्य, स्थानीय तह, भूमि व्यवस्था, गृह प्रशासन, वनजस्ता निकायमै सर्वाधिक लुट मच्चिने गरेको छ ।

यसैगरी, राजस्व प्रशासन, सार्वजनिक निर्माण र खरिद, सामाजिक सुरक्षा वितरणजस्ता क्षेत्रमा पनि अत्यधिक भ्रष्टाचार हुने निष्कर्ष अख्तियारको छ । आर्थिक वर्ष २०७२÷७३ देखि २०७७÷७८ सम्मको ६ वर्ष अवधिमा आयोगमा परेका विभिन्न उजुरी विश्लेषणसहित तथ्य औंल्याइएको हो ।

आयोगले भ्रष्टाचार हुने क्षेत्रसहित पदीय तथा पेसागत प्रवृत्तिसमेत विश्लेषण गरेको छ । जसअनुसार भ्रष्टाचारजन्य प्रवृत्तिमा राजनीतिकदेखि प्रशासनको उच्चतहकै संलग्नता रहेको विश्लेषण अख्तियारको छ । यसअतिरिक्त तल्लो तहका कर्मचारीसमेत भ्रष्टाचारमा समान रूपमा संलग्न हुने गरेको अख्तियारको ठहर छ ।

अख्तियारका अनुसार पछिल्ला दिन राजस्व चुहावट भ्रष्टाचार बढेको छ । राज्यको आम्दानी परिमाणमा अधिकतम वृद्धि हुनेगरी राजस्व संकलन तथा असुली जिम्मेवारी पाएका कर्मचारी तथा पदाधिकारीबाटै राजस्व असुली कार्यमा ‘चरम लापारबही’ गरी अनुचित करछुट र राजस्वबापत उठेको रकम हिनामिना गर्ने प्रवृत्ति देखिएको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot