Logo

देउवाले चुनावी तालमेल गर्न नमाने प्रचण्डले के गर्लान् ?



काठमाडौं, २३ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चुनावमा पार्टीलाई एक्लै होम्ने पक्षमा छैनन् । उनले चुनावी तालमेलका लागि कार्यदल बनाउने निर्णय गराएबाट पनि यो प्रष्ट हुन्छ ।

प्रचण्डले माधवकुमार नेपालको दल नेकपा एकीकृत समाजवादी पार्टीसँग तालमेल गर्ने निश्चित नै छ । तर, माधव नेपालसँग तालमेल गरेर मात्र चुनाव जित्न नसकिने बुझेर उनी अन्य विकल्पमा पनि लागेका छन् ।

नेपाली काँग्रेससँग स्थानीय, प्रदेश र प्रतिनिधि सभाको चुनाव गरी तीनवटैमा तालमेल गर्ने प्रचण्डको प्रयास छ । यसबाहेक उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीसँग पनि प्रचण्डले तालमेलको तयारी गरिसकेका छन् ।

काँग्रेसभित्र माओवादीसँग चुनावी तालमेल गर्न नहुने चर्को आवाज उठ्न थालेको छ । तर, प्रचण्डले एमसीसी सदनबाट अनुमोदन गराउँदा देउवासँग चुनावी तालमेलको भद्र सहमति गरेको चर्चा छ ।

चुनावी तालमेल घोषित नभए अघोषित गर्ने प्रचण्डको तयारी रहेको बुझिएको छ । उनले विगतमा देउवासँग स्थानीय चुनावमा यस्तै तालमेल गरेका थिए । भरतपुर महानगरपालिकाको मेयमा रेनु दाहालको जितको कारण तालमेल नै थियो ।

अबको चुनावमा देउवा तालमेलका लागि तयार नभए प्रचण्डले विकल्पमा फेरि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सहमतिको प्रयास गर्न सक्छन् । उनले २०७४ को प्रतिनिधि सभा र प्रदेशसभा चुनावमा देउवालाई चित खुवाउँदै ओलीसँग हातेमालो गरेका थिए । देउवा नेतृत्वको सरकारमा सहभागी भएको माओवादीले चुनावी तालमेल भने ओलीसँग गरेको थियो ।

नेकपा विभाजन भई ओली र प्रचण्डबीच टकराव बढेको अवस्था छ । तर, ओली र प्रचण्डबीचको टकराव स्थायी भने होइन । दुई नेताको संवाद हुन थालिसकेको छ । प्रचण्डले चुनाव जितका लागि सकेसम्म देउवासँग नभए अन्य विकल्पमा गएर भएपनि माओवादीलाई बढीभन्दा बढी सिट जिताउन रणनीतिक चार्तुयताका साथ लाग्नसक्ने देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot