Logo

रामकोटमा एकै परिवारको विष प्रकरणः सुसाइड नोटमा के थियो ?



काठमाडौं, २५ फागुन । रामकोटमा एकै परिवारका पाँच सदस्यले आर्थिक संकटका कारण विष पिएको खुलेको छ । चरम आर्थिक संकटको सामना गर्न नसकेपछि भीम प्रधान र मन्दिरा प्रधानले सरसल्लाहले आफू पनि विष पिएर परिवारका सदस्यलाई समेत पिलाएको खुलेको हो ।

२४ फागुनमा विष पिएका उनीहरुले २० फागुनमै सुसाइड नोट लेखेको प्रहरीले पत्ता लगाएको छ । सुसाइड नोट भीम र मन्दिराले तयार गरेको खुलेको छ । उनीहरुले आफूले जानेरै विष पिएको र परिवारका अन्य तीन सदस्यलाई समेत पिलाएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ ।

सुसाइड नोट मन्दिराले १८ फागुनमा तयार गरी हस्ताक्षर गरेकी थिइन् । भीमले २० फागुनमा तयार गरेको र भीमकी ६२ वर्षीया आमा इन्दिरामायाको नाममा लेखिएको सुसाइड नोटमा उनको औंठाछाप भेटिएको छ ।

घटनामा सुवर्णमान प्रधानको मृत्यु भइसकेको छ । उनी भीमका भतिजा हुन् । ११ वर्षीया सुप्रिया प्रधानसहित अन्य ३ जनाको मनमोहन मेमोरियल अस्प्तालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था चिन्ताजनक रहेको जनाइएको छ ।

सुसाइड नोट र प्राप्त प्रमाणहरुका आधारमा प्रहरीले प्रधान परिवारमा चरम आर्थिक संकट पत्ता लगाएको छ । इन्द्रमाया क्यान्सरको रोगी भएको र भीम प्रधान मानसिक रोगी पत्ता लागेका छन् । उनले मानसिक रोगको औषधी खाइरहेको खुलेको छ ।

३५ वर्षीया मन्दिरा प्रधानले कमाएर पाँच जनाको परिवार चलेको थियो । उनकै कमाईले उपचार खर्च समेत गर्नुपर्दथ्यो । उनी न्युरोडमा रहेको ब्रिटिश गोरखाली सेभिङ एन्ड क्रेडिटमा रकम संकलकको जागिरे थिइन् । तर, रकम हिनामिनाको आरोप लागेर प्रहरीले सोधपुछ समेत गरेको सुसाइड नोटमा उल्लेख गरेकी छिन् ।

सुसाइड नोटमा घरमा सासु र पति समेत विरामी रहेको र उपचार गर्दा धेरै रकम सकिएको उल्लेख गरेको बुझिएको छ ।

रामकोटस्थित घरमा उनीहरु डेरा बस्थे । डल्लुका पुराना बासिन्दा भएपनि संयुक्त परिवारमा छुट्टिने क्रममा उनीहरु रामकोट पुगेका थिए । त्यहाँ डा. उद्धव पुरीको घरमा डेरा बस्न थालेका थिए । यसै वर्षको कात्तिमा डेरा बस्न थाले । सुसाइड नोटमा मन्दिराले जीवनप्रति निराश भएको उल्लेख गरेकी छिन् । उनले घर देखि अफिससम्म पीडा मात्र भएको भनेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot