Logo

देव गुरुङलाई ऋषि धमलाको प्रश्नः “मध्यराति सदन अन्त्य गरेर चोलेन्द्रशमशेरलाई अदालतमा फर्कन नदिने नियत राखिएको हो ?”



काठमाडौं, २ चैत । नेकपा (माओवादी केन्द्र) का नेता देव गुरुङले समान एजेन्डाका आधारमा स्थानीय तहमा गठबन्धन हुन सक्ने औंल्याएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता गुरुङले भने, “गठबन्धन सरकारमा रहेका घटकहरुबीच एजेन्डामा सहमति भए तालमेल हुन सक्छ । यो कुरा स्थानीय एजेन्डामा निर्भर हुन्छ । नत्र स्वतन्त्र रुपमा प्रतिस्पर्धा हुन्छ । केवल संख्या हेरेर मुलुकका सामु आएका चुनौती सम्बोधन गर्न हेरेर हुँदैन ।”
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाभियोग प्रस्तावमाथि छलफल हुन लागिरहेका बेला मध्यराति संसद्को अधिवेशन किन अन्त्य गर्नुभयो भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, “हिउँदे अधिवेशन मूलतः विधेयक अधिवेशन हो । तर सदन सहज ढंगले सञ्चालन हुन सकेन । मन्त्रिपरिषद्ले आवश्यक ठानेर अधिवेशन अन्त्य गरेको हुन सक्छ । किनभने जेठ १५ गते बजेट ल्याउनुपर्छ । त्यसका लागि वैशाखको १५, २० मा सदन आह्वान गर्नुपर्छ । महाभियोग सदनमा टेबुल भएको छ । यो सदनको पोपर्टी हो । यसबारे सभामुखले कहिले छलफल चलाउने हो, उपयुक्त समयमा निर्णय गर्नुहुन्छ ।”
महाभियोगको प्रस्तावमाथि छलफल अनिश्चित हुँदा त चोलेन्द्रशमशेर राणालाई अदालतमा फर्कन नदिने नियत देखियो नि भन्ने पत्रकार धमलाको अर्को प्रश्नमा नेता गुरुङले भने, “सदनको अन्त्य हुँदैमा महाभियोग अलपत्र पर्दैन । यो सदनमा टेबुल भइसकेकाले यो प्रतिनिधिसभाको कार्यकालभरि जीवित रहिरहन्छ ।
महाभियोग प्रस्ताव सिफारिस समितिले तीन महिनाको म्याद पाएको छ, जेठसम्म टुंगो नलागे के हुन्छ भन्ने अर्को प्रश्नमा उनले थपे, “फुल हाउसमा छलफल गरी समितिमा पठाइयोस् भन्ने प्रस्ताव टेबुल भएपछि मात्र समितिको दिनगन्ती हुन्छ र प्रक्रियागत रुपमा अघि बढ्छ ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot