Logo

चीनसँग एक दर्जन सम्झौतामा हस्ताक्षरको तयारी



काठमाडौं, चैत १२ । चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी शुक्रबार काठमाडौं आइपुगेका छन् । पाकिस्तान, अफगानिस्तान हुँदै नयाँ दिल्ली पुगेका विदेशमन्त्री वाङ त्यहीँबाट विशेष विमानमार्फत शुक्रबार काठमाडौं आइपुगेका हुन् ।

परराष्ट्रमन्त्री नारायण खड्काको निमन्त्रणामा काठमाडौं आइपुगेका विदेशमन्त्री वाङले शुक्रबार कुनै पनि भेटघाटको कार्यक्रम गरेनन् । भ्रमणको दोस्रो दिन शनिबार बिहान ६ः३० बजे हाइकिङ जाने कार्यक्रम रहेको छ । उनको भ्रमणको क्रममा रुट पर्ने ठाउँमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विशेष टोली सुरक्षामा खटिनेछन् ।

हाइकिङबाट फर्किएपछि वाङले समकक्षी परराष्ट्रमन्त्री खड्कासँग सिंहदरबारमा भेट गर्ने कार्यक्रम रहेको छ । सोही क्रममा नेपाल र चीनबीच विभिन्न विषयमा द्विपक्षीय सहमतिपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्री खड्कासँग भेटपछि वाङ सिंहदरबारबाट प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटका लागि प्रधानमन्त्री निवास बालुवाटार जानेछन् । साथै भ्रमणको तेस्रो दिन आइतबार बिहान ९ः३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास जाने कार्यक्रम तय भएको छ ।

राष्ट्रपति भण्डारीसँगको भेटपछि पूर्वप्रधानमन्त्रीद्वय नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट्ने कार्यक्रम रहेको छ । दुई नेतालाई भेटेपछि उनी त्यसै दिन स्वदेश फर्कनेछन् ।

नेपाल भ्रमणका क्रममा वाङले काठमाडौंबाटै भर्चुअल माध्यमबाट पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्ने कार्यक्रम छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चिनियाँ ऋणमा निर्माण भएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot