Logo

सरकारी वक्तव्यमा बीआरआईको एक शब्द नआउनु षड्यन्त्र होः विष्णु रिजाल



काठमाडौं, १५ चैत । नेकपा एमालेका नेता विष्णु रिजालले नेपाल सरकारको वक्तव्यमा बीआरआईबारे एक शब्द पनि उच्चारण नहुनु रहस्यमय भएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता रिजालले भने, “चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले नेकपा एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग बीआरआईबारे कुराकानी गर्नुभएको थियो तर तर प्रधानमन्त्री र परराष्ट्रमन्त्री स्तरका वक्तव्यमा बीआरआई भन्ने एक शब्द पनि छैन । यसले के देखाउँछ ?”
रिजालले माग्नले अनुदानमात्र लिन्छ, ऋण लिन्न भन्न नमिल्ने जिकिर पनि गरे । उनले थपे, “माग्नेले ऋण नलिने अनुदान लिने भन्न पाउँछ र ? सस्तो ऋण लिएर भए पनि परियोजना पूरा त गर्नुपर्यो नि । नेपाल सरकारले चिनियाँ विदेशमन्त्रीको भ्रमणलाई महत्व पनि दिएन, त्यसमा प्रगति पनि गर्न सकेन ।”
कालापानी, लिम्पियाधुरा र लिपुलेक भौतिक रुपमा फिर्ता गर्न सके प्रधानमन्त्ती शेरबहादुर देउवाको उचाइ बढ्ने पनि उनले बताए । उनले भने, “प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका विषयमा राष्ट्रिय रुपमा छलफल भएको छैन । भारत भ्रमणलाई चासोका साथ हेरिन्छ । अवान्छित सम्झौता हुने मनोविज्ञानका साथ हेरिन्छ । केपी ओलीका पालामा चुच्चे नक्सा बनायौं । भारतीय सेनालाई नेपाली भूमि छाड्न दुई पटक डिप्लोमेटिक नोट पठायौं । त्यो भूमि फिर्ता गर्न सक्नुभयो भने मात्र शेरबहादुरजीको उचाइ बढ्छ । समस्यालाई कार्पेटमुनि राखेर सम्बन्ध सुमधुर बनाउन सकिँदैन ।”
उनले स्थानीय तहमा तालमेलको ढोका खुलै राखेको पनि बताए । उनले भने, “हामी ५ दलीय गठबन्धनजस्तो बिहानदेखि साँझसम्म रुद्री पाठजस्तो गठबन्धन, गठबन्धन भन्दैनौं । हामीले केन्द्रीय स्तरमा गठबन्धन गर्दैनौं । स्थानीय स्तरमा जिल्ला कमिटीले प्रदेशका अनुमतिमा तालमेलको गृहकार्य गर्न सक्छ ।”
एमाले अध्यक्ष केपी ओलीले राजावादीसँग तालमेल गर्ने कुरा आएको छ नि भन्ने पत्रकार धमलाको प्रश्नमा रिजालले भने, “अहिले पाँच कुनाबाट केपी ओलीमाथि आक्रमण भएको छ । ओली १४ वर्ष लोकतन्त्रका लागि जेल बसेको नेता हो । एमाले अत्यधिक बहुमतसहित पहिलो शक्तिका रुपमा स्थापित हुन्छ । कुनै गँजडीको गफमा मेरो कुनै टिप्पणी छैन ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot