Logo

प्रधानमन्त्री शेरबहादुर देउवा घुम्दै घुम्दै दिल्ली पुगेर ‘हाउ आर यु मोदीजी’ भनेको त होइन निः विष्णु रिजाल



काठमाडौं, २० चैत । नेकपा एमालेका नेता विष्णु रिजालले भारत भ्रमणलाई प्रधानमन्त्री शेरबहादुर देउवाले निजी भ्रमणका रुपमा उपयोग गरेको आरोप लगाएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता रिजालले भने, “प्रधानमन्त्री देउवा के एजेन्डा लिएर भारत जानुभएको हो ? हामीलाई औपचारिक जानकारी छैन । संयुक्त वक्तव्य हेर्दा यतिका लागि भारत भ्रमणमा जानुको औचित्य साबित हुँदैन । उहाँले भारतमा राजकीय सम्मान पनि पाउनुभएन । राष्ट्रपतिसँग भेटघाट पनि भएन । देउवा घुम्दै घुम्दै दिल्ली पुगेर हाउ आर यु मोदीजी भनेको त होइन होला नि । उहाँले यो भ्रमणलाई पार्टीगत, धार्मिक र निजी भ्रमणको रुपमा उपयोग गर्नुभयो ।”
उनले प्रधानमन्त्री देउवाले सीमा समस्या समाधानका लागि संयुक्त बैठक राखौं भन्न नसकेको पनि औंल्याए । उनले भने, “कथित कम्युनिस्ट मन्त्रीको लावालस्कर लिएर दक्षिणपन्थ देखाउन प्रधानमन्त्री वनारस जान लाग्नुभएको छ । यो भ्रमणलाई उहाँले निजी सम्बन्ध सुधार र धर्मकर्मका लागि उपयोग गर्नुभयो । देशका लागि केही पनि गर्नुभएन । मलुवा स्वरमा सीमा समस्याबारे बोलेको सुनिएको छ । तर सीमा समस्या समाधानका लागि संयुक्त बैठक बसालौं भनेको सुनिएको छैन ।”
पञ्चेश्वर परियोजनाबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सकारात्मक कुरा गरे पनि विश्वासको आधार नभएको रिजालले आरोप लगाए । उनले भने, “हो, पञ्चेश्वर परियोजनाबारे सकारात्मक कुरा गर्नुभएको छ मोदीले । नेपाल भ्रमणका क्रममा पनि उहाँले एक वर्षभित्र डीपीआर तयार गर्ने भन्नुभएको थियो । पञ्चेश्वर ७५ वर्षको परियोजना हो । केही काम नगरी २५ वर्षको खेर गयो । त्यसैले यस्ता कुरामा विश्वास गर्ने आधार छैन ।”
प्रधानमन्त्रीको भारत भ्रमणमा परराष्ट्रमन्त्री डा. नारायण खड्का भूमिकाविहीन भएको पनि उनले बताए । रिजालले थपे, “परराष्ट्रमन्त्री नेपालमै पनि हुनुहुन्छ भन्ने जस्तो लाग्दैन । केही काम गरेको देखेको छैन । कूटनीति सानो देशको ठूलो सम्पत्ति हो । उहाँको ज्ञानमा मेरो प्रश्न छैन । तर यति निष्क्रिय परराष्ट्रमन्त्री मैले देखेको थिइनँ । परराष्ट्रमन्त्रीको के कुरा, यो सरकार नै भूमिकाविहीन छ ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot