Logo

चितवनका कांग्रेस हामीभन्दा धेरै लोकतान्त्रिक छन्, गठबन्धन जोगाउनका लागि भरतपुरको मेयरमा रेणु दाहालको उम्मेदवारी कायम रहन्छः रामनारायण बिडारी



काठमाडौं, २४ चैत । नेकपा (माओवादी केन्द्र) का नेता रामनारायण बिडारीले भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाहालको उम्मेदवारी नै कायम रहने ठोकुवा गरेका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बिडारीले भने, “गठबन्धन निर्णय गर्ने ठाउँमा म छँदा पनि छैन, गठबन्धनभित्र केही निर्णय पनि भएको छैन । भरतपुर महानगरपालिकामा कांग्रेसले दाबी गर्नु पनि स्वाभाविकै हो । तर, भरतपुर महानगरपालिकामा विगत ५ वर्षमा भएका विकास निर्माण, त्याग र सक्रियता हेर्दा मेयर रेणु दाहाललाई नै थप एक पटकलाई अवसर दिँदा ठीकै हुने हो । मलाई लाग्छ, महिला पनि भएकाले गठबन्धनले रेणु दाहालकै उम्मेदवारी कायम गर्छ ।”
नेता बिडारीले माओवादी केन्द्रभन्दा चितवनका नेपाली कांग्रेसका नेताहरु लोकतान्त्रिक भएको पनि बताए । उनले भने, “हामी मिलेर जाँदा प्रतिगमन विरुद्धको लडाइँमा सफलता मिल्यो । गठबन्धन नभएको भए संविधान धुजाधुजा भइसक्थ्यो । हामीले शेरबहादुर देउवालाई मिलेर नै प्रधानमन्त्री बनाएका हौं । चितवनका कांग्रेस नेताहरु बुझक्की छन् । हामीभन्दा लोकतान्त्रिक पनि छन् । एउटा महानगरमा अडान राखेर गठबन्धन भत्कन दिँदैनन् ।”
अहिलेको आर्थिक संकट केपी ओलीको कारण आएको आरोप पनि उनले लगाए । कर्मचारीलाई कुट्ने गण्डकी प्रदेशका मन्त्री दीपक मनाङेलाई फौजदारी अभियोग लगाउनुपर्ने पनि उनले औंल्याए । बिडारीले भने, “मन्त्रीले कर्मचारी कुट्न पाइँदैन । त्यो व्यक्तिले व्यक्तिलाई कुटेमा फौजदारी मुद्दा लाग्छ । कर्मचारीलाई कुटेपछि कारबाही त हुने नै भयो नि ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot