Logo

उपभोक्ता समितिमार्फत बन्दै गरेका बागमतीका उत्कृष्ट पर्यटन पूर्वाधार (फोटोफिचर)



काठमाडौं, २६ चैत । बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालयले उपभोक्ता समिति मार्फत बनाएका पर्यटन पूर्वाधार सन्तोषजनक रहेको पाइएको छ । केही पर्यटन पूर्वाधार निर्माणका काम उपभोक्ता समितिमार्फत गरिएका नमुना काम भनेर देखाउन मिल्ने खालका छन् ।

मेडिकल टुरिजमको राजधानी भनेर चिनिने चितवनको राप्ती–४ मा बागमती सरकारले उत्कृष्ट शिखर हरियाली ईको टुरिजम पार्क बनाउँदैछ । स्वस्थ हावा र फोक्सोलाई तन्दुरूस्त बनाउन उक्त ईको टुरिजम पार्क घुम्न जानै पर्ने खालको छ । बागमती प्रदेशमा संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले मेडिकल टुरिजमसँगै जोडेर चितवन लगायतका ठाउँमा ईको टुरिजम पार्कको विशेष सम्भावना रहेको बताउँछन् । उनले ईको टुरिजम पार्कलगायत बन्दै गरेका पर्यटन पूर्वाधारका कामहरू समयमै सम्पन्न गर्न लगातार लागिपरेका छन् ।

पछिल्लो समय उपभोक्ता समितिमार्फत गरिएका पूर्वाधारका कार्यक्रमहरु समयमै सम्पन्न नहुने र विवादमा पर्ने देखिँदै आएका छन् । बागमती प्रदेश सरकारले उपभोक्ता समितिमार्फत बनाएको चितवनस्थित उक्त ईको टुरिजम पार्कको काम भने सन्तोषजनक नै देखिएको बागमती प्रदेशको संस्कृति तथा पर्यटन सचिव मदन कोइरालाले जानकारी दिए ।

बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालय अन्तर्गतका चितवनको शिखर हरियाली ईको टुरिजम पार्क, मकवानपुर हेटौंडाको कुश्माण्ड सरोवर त्रिवेणीधाम उपभोक्ता समिति मार्फत बनेका उत्कृष्ट प्रोजेक्ट भएको पर्यटन सचिव कोइरालाको भनाइ छ ।

रामेछाप मन्थलीको गाइखुरा भीमसेनस्थान पदमार्ग निर्माणको कार्य पनि उपभोक्ता समिति मार्फत निर्माण गरिएको उत्कृष्ट काम भएको सचिव कोइराला सुनाउँछन् । चितवनको राप्तीमा निर्माण सम्पन्न हुने चरणमा पुगेको ऋषेश्वर महदेव मन्दिरको सभाहल पनि प्रदेश सरकारको बजेटमा उपभोक्ता समितिमार्फत नै निर्माण भइरहेको छ ।

पर्यटन सचिव कोइराला उक्त सभाहल उपभोक्ता समिति मार्फत निर्माण भएको आयोजना भनेर उदाहरण प्रस्तुत गर्न सक्ने खालको काम उपभोक्ता समितिले गरेको दाबी गर्छन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot