Logo

तालमेलमै लाग्न निर्देशन



काठमाडौं, बैशाख ३ । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनमा आबद्ध दलसँग नै तालमेल गर्न मातहतका समितिहरूलाई निर्देशन दिएको छ।

पार्टीका स्थानीय तह समितिबाट केन्द्रीय सत्ता गठबन्धनमा रहेका दलसँग चुनावी तालमेल नगर्ने निर्णय भइरहेका बेला नेपाली कांग्रेसले गठबन्धनको भावना र नीतिअनुसार अघि बढ्न मातहतका संयन्त्रलाई निर्देशन दिएको हो।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा तालमेल गर्न नसकिने निर्णय कांग्रेसका स्थानीय समितिले गर्न थालेपछि निर्वाचन केन्द्रीय परिचालन समितिको बैठकले संघीय सत्ता गठबन्धनलाई जोगाउँदै प्रदेश र प्रतिनिधिसभा निर्वाचनसम्म पुग्न पनि स्थानीय चुनावमा तालमेल आवश्यक रहेको औंल्याएका छ।

कांग्रेसले स्थानीय तह निर्वाचनमा तालमेल नगर्दा केन्द्रीय सत्ता गठबन्धनमाथि नै प्रश्नचिह्न खडा हुने विश्लेषण समितिको छ। केन्द्रीय सत्ता साझेदार दललाई एक्लै छाडेर अघि बढ्दा केन्द्रमा सरकार सञ्चालन गर्ने विषयमा नैतिक प्रश्न उठ्ने भएकाले मातहतका पार्टी निकायहरूले त्यसलाई बुझेर अघि बढ्नुपर्ने समितिको बुझाइ छ।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्का संयोजक रहेको समितिको बैठकमा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीकै सहयोगका कारण कांग्रेस नेतृत्वमा सरकार निर्माण सम्भव भएको कुरा सबै तहका नेता तथा कार्यकर्ताले मनन गर्नुपर्ने विषयमा छलफल भएको थियो।

संयोजक खड्काले स्थानीय तहको निर्वाचनमा गठबन्धनका लागि पार्टीले गरेको निर्णय अनुशासनको घेराभित्र पर्ने धारणा राख्दै त्यसलाई कार्यान्वयन गर्ने जिम्मेवारी केन्द्रीय सभापतिदेखि सबै तहका कमिटी, नेता र कार्यकर्ताको भएको बताएका थिए। सत्ता गठबन्धन बचेन भने सरकार पनि नरहने खड्काले बताएका थिए।

खड्कालाई उद्धृत गर्दै सहभागी एक नेताले भने, ‘संघीय सत्ता गठबन्धनमा रहेका पार्टीलाई सडकमा छोड्नु कांग्रेसको नैतिकताभित्र पर्दैन। गठबन्धनबिना कांग्रेस पनि सत्तामा रहन सक्दैन।’

बैठकले कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संघसंस्थालाई केन्द्र, प्रदेश, जिल्ला, पालिका, वडा र टोल तहसम्म तत्काल स्थानीय तह निर्वाचन परिचालन समिति गठन गरी पार्टीका तथा गठबन्धन दलसँग तालमेल गरी उठाइएका उम्मेदवारलाई विजयी गराउन सक्रिय हुन निर्देशन गरेको छ। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot