Logo

अर्जुन दास हत्या प्रकरणः कारण सेक्स, मोबाइल र नशा



काठमाडौं, बैशाख ३। गत पुस ३ गते कैलालीको जानकी गाउँपालिका–९ की धर्मा दासको मोबाइलमा एउटा अडियो म्यासेज आयो। त्यसमा एक पुरुषको आवाजमा भनिएको थियो, ‘एकदुई दिनमा खबर पाइहाल्नुहुन्छ, घाँटी अलग छ, शरीर अलग छ। हामीले गरेर आको। हामी बोर्डरपारि छौं।

बैंगलोर जान रूपैडियामा छौं।’ त्यहाँ बोलिएको कुरा आफ्नै पति २५ वर्षीय अर्जुनका दासका बारेमा हो भनेर धर्मालाई थाहा थिएन। तर अर्जुन अघिल्लो रातिदेखि नै घर आएका थिएनन्। अर्जुन कहाँ गए भनी धर्माले बिहानैदेखि छरछिमेकमा पुगेर सोधीखोजी नगरेकी पनि होइनन्। तर कुनै अत्तोपत्तो नपाउँदा उनी चिन्तित भइरहेकी थिइन्।

मोबाइलमा अडियो म्यासेज आएपछि धर्मा सीधै इलाका प्रहरी कार्यालय लम्की पुगिन्। त्यसको केही समयमै स्थानीय अमरावती सामुदायिक वनमा टाउको छिनाइएको अवस्थामा शव भेटिएको खबर प्रहरीकहाँ पुग्यो। धर्मासहितको प्रहरी टोली घटनास्थल पुग्दा शव अर्जुनकै रहेको पुष्टि भयो। शव दर्दनाक अवस्थामा थियो। जहीँतहीँ चोटैचोट, रगतैरगत बगेको थियो। गर्धनमुनिको शरीर रूखमा बाँधिएको थियो। घाँटी छिनालेर टाउको भुइँमा फ्याँकिएको थियो।

प्रहरीले तत्कालै घटनाका दोषी फेला पार्न सकेन। अनुसन्धान भने अगाडि बढायो। जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले मात्रै अनुसन्धान सम्भव नहुने देखिएपछि महानगरीय अपराध महाशाखा काठमाडौंबाट प्रहरी नायब उपरीक्षक ९डिएसपी० कृष्ण चन्दको नेतृत्वमा विशेष टोली पनि थप गरियो। यही टोलीले घटनाको चार महिनापछि सम्पूर्ण गुत्थी पत्ता लगाएको छ।

घटनामा संलग्न रहेको भन्दै शुक्रबार महानगरीय अपराध महाशाखाले चारजनालाई सार्वजनिक पनि गरेको छ। पक्राउ पर्नेमा अर्जुनकै साथी जानकी गाउँपालिका–९ कै सुमित साउँद, ‘बमे’ भन्ने बमबहादुर बोहरा, ‘रोनी’ भन्ने दिलीप दास र मनोज भण्डारी छन्। उनीहरू सबैको उमेर १९ वर्ष रहेको छ। प्रहरी अनुसन्धानका क्रममा घटनाको कारण सेक्स, मोबाइल र नशा देखिएको छ। सेक्सबाट सुरु भएको घटनाको आधार मोबाइल हुँदै नशासम्मका पुगेर वारदात हुन पुगेको प्रहरीले जनाएको छ।

पहिलो कारण सेक्स

घटनाको पहिलो अध्याय सेक्ससँग जोडिन्छ। अर्जुनसहित अभियुक्त चारैजनाका साथी स्थानीय कमल साउँद हुन्। प्रहरीका अनुसार मृतक अर्जुनकी पत्नी धर्मालाई त्यो अडियो म्यासेज पठाउने व्यक्ति तिनै कमल थिए। घटनाको गुत्थी खोतल्न प्रहरीले सुरुमा उनैलाई पक्राउ गरेको थियो। उनी घटनाको तीन दिनअघि एक युवतीसँग शारीरिक सम्बन्धमा थिए।

सोही अवस्थामा युवतीका बुवाले उनलाई रंगेहात समातेका थिए। त्यहाँबाट उनी भाग्न सफल भए। भाग्ने बेला उनी निर्वस्त्र थिए। भागेर निस्किएका कमलले सुमित साउँदलाई कपडा लिएर आउन भने। कपडा लाइसकेपछि सुमितलाई लिएर कमल आफ्नो घरमा गएर सुते। राती सँगै सुतेका सुमित बिहान चिया खाएर मात्रै आफ्नो घरतिर लागे। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot