काठमाडौं, २५ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले प्रहरीमा प्रचलित नियम कानून विपरितको बढुवा गरी सुरक्षा संगठनलाई तहसनहस बनाएको आरोप लगाएका छन् । आज पार्टीको पत्रकार सम्मेलन आयोजना गरी आइजीपी बढुवाप्रति असन्तुष्टि पोखेका हुन् ।
‘प्रहरीमा प्रचलित नियम कानून विपरित भएको छ,’ ओलीले देउवाको चर्को आलोचना गर्दै भने, ‘सुरक्षा संगठनलाई तहसनहस बनाउने काँग्रेस सरकारको इतिहास छ ।’
आइजीपीमा धीरज प्रताप सिंहलाई नियुक्त गरेकोमा पहिलोपटक ओलीले सार्वजनिक समारोहमा आपत्ती जनाएका हुन् । सिंहको नियुक्तिविरुद्ध एआइजी विश्वराज पोखरेल अदालत गएपनि अन्तरिम आदेश जारी भएन ।
ओलीले देउवाले विगतमा संसद भग गरी राजालाई सत्ता सुम्पिएको आरोप लगाए । उनले भने, ‘संसद भंग गरी राजालाई सत्ता सुम्पने, राजाबाट नियुक्त हुने नेपाली काँग्रेसको सरकारले गरेको इतिहास छ ।’
ओली काँग्रेसको नामै लिएर कडा रुपमा प्रस्तुत भए । उनले काँग्रेसले देशमा समस्याहरु ल्याउने गरेको आरोप लगाए ।-Photo: Mukunda Kalikote