Logo

नेपालमा बढ्दो अमेरिकी प्रभाव, एमसीसी हुँदै तिब्बती मामलामा सक्रियता



काठमाडौं, ८ जेठ । नेपालमा अमेरिकी प्रभाव बढ्दै गएको छ । अमेरिकी अधिकारीहरुको बढ्दो आवतजावत्, सहयोग र लगानी वृद्धि देखि संवेदनशील मुद्दामा चासोले प्रभाव बढेको देखिएको हो ।

५० करोड डलरको एमसीसी सदनबाट पारित भएपछि अमेरिकाले थप सहयोग घोषणा गरेको छ । अमेरिकी उच्च अधिकारीहरुको नेपाल भ्रमण बाक्लो भयो । अहिलेसम्मकै ठूलो संसदीय टोली नेपाल भ्रमणमा आयो ।

यसै हप्ता अमेरिकी उपमन्त्री उज्रा जिया नेपाल आएकी छिन् । तिब्बती मामला समेत हेर्ने जियाले नेपाल आएलगत्तै तिब्बती शरणार्थी नेताहरुलाई जावलाखेल र बौद्ध पुगेर भेटिन् । उनले सामाजिक सञ्जालमा समेत भेटको तस्बिर सार्वजनिक गरिन् ।

बौद्ध स्तुपामा पुगेर जियाले तिब्बती नेताहरुसँग भेटेर तस्बिर खिचाएकी छिन् । उनले तिब्बती शरणार्थीको मानवअधिकार देखि पछिल्लो अवस्थाबारे समेत जानकारी लिएकी छिन् ।

जिया नेपाल आउनुअघि भारतमा दलाई लामालाई धर्मशालामा भेटेर फर्किएकी हुन् । नेपालमा जियाको सक्रिय भेटघाटलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

छिमेकी चीनले तिब्बत मामलामा शक्तिराष्ट्रहरुको भूमिकामाथि प्रश्न उठाउने गरेको छ । उसले नेपालबाट चीनको सुरक्षामा चुनौती नहुने सुनिश्चितता चाहिरहेको छ । विशेषगरी तिब्बती गतिविधिप्रति चीनको चासो छ । अहिले जियाको भ्रमण र सक्रियताबारे उसको गम्भीर चासो देखिएको छ ।

एमसीसी पारित हुनु र अमेरिकी अधिकारीको बाक्लो भ्रमणसँगै तिब्बती गतिविधिले चीनलाई झस्काएको विश्लेषण हुन थालेको छ । यसले भूराजनीतिक जटिलताहरु आउनसक्नेतर्फ समेत विश्लेषण गरिएको छ ।

नेपालमा कम्युनिस्ट विभाजन भएपछि केपी शर्मा ओलीको सत्ता ढलेको र त्यसपछि शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि चीनको प्रभाव घटेको छ । ओलीले चीनसँग महत्वपूर्ण सम्झौताहरु गरेको र कतिपय सम्झौता पाइपलाइनमा थिए । तर, देउवा प्रधानमन्त्री भएपछि सम्झौता गरिएको बीआरआईको समेत कार्यान्वयन रोकिएको छ । नेपालले चीनसँग ऋण नभई अनुदान मात्र लिने जवाफ दिएको छ । अर्कोतर्फ, एमसीसी देउवाको कार्यकालमा सदनबाट पारित भएको छ । यसले नेपालमा अमेरिकी प्रभाव बढेको र चीनको घटेको विश्लेषण छ ।

Photo Source: Twitter Page of Uzra Ziya



प्रतिक्रिया दिनुहोस्