Logo

तालिवानको शासनपछि अफगानिस्तानमा तेल देखि पीठोसम्मको मूल्य दोब्बर



एजेन्सी, ९ जेठ । अफगानिस्तानमा उग्रवादी मुस्लिम संगठन तालिवानले सत्ता हातमा लिएपछि खाद्य सामाग्रीको मूल्य दोब्बर भएको छ । खाने तेलको मूल्य दोब्बरभन्दा बढी पुगेको छ ।

गम्भीर खाद्य संकटका कारण अफगानिस्तानमा अहिले भोकमरी बढेको छ । मानिसहरु पीठो र तेल समेत खरिद गर्न नसक्ने अवस्थामा पुगेका छन् ।

तालिवानको शासन आउनु अघि एक बोराको १४ सय पर्ने पीठो अहिले २८ सय देखि ३ हजार अफगानीज मुद्रा पुगेको छ । त्यतिबेला एक लिटरको एक सयले पाइने खाने तेल अहिले २ सय माथ पुगेको छ ।

विक्रेताहरुले डलरको मूल्य अफगानी मुद्राको तुलनामा बढेकाले मूल्यवृद्धि भइरहेको बताएका छन् । ९७ प्रतिशत अफगानी जनसंख्या खाद्य संकटको मारमा पुगेको संयुक्तराष्ट्रसंघले जनाएको छ । विश्व खाद्य संगठनले २ करोड २० लाख अफगानी जनसंख्या भोकमरीको खतरा मोलिरहेको उल्लेख गरेको छ ।

अफगानिस्तानमा भारतलगायतका मुलुकले खाद्यान्न सहयोग पठाइरहेका छन् । भारतले ५० हजार टन गहुँका अलावा औषधीलगायतका सामाग्री पठाएको छ । स्थानीय सर्भेले ५६ प्रतिशत जनसंख्या गरिबीको चपेटामा परेको देखाएको छ ।

तालिवानले गत वर्ष शक्तिको बलमा शासनसत्ता कब्जा गरेको थियो । उसले महिलाहरुलाई शिक्षाबाट वञ्चित गर्न विद्यालय बन्द गराएको छ । सार्वजनिक ठाउँमा मुख छोप्नुपर्ने अनिवार्य गरेको छ ।-Photo Source: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot