Logo

वातावरण दिवसमा वाग्मती किनारमा वृक्षरोपण



काठमाडौँ,२३ जेठ । काठमाडौँ उपत्यकाको सभ्यताको स्रोत वाग्मती नदीलाई स्वच्छ बनाउने उद्देश्यले विश्व वातावरण दिवसका अवसरमा शङ्खमूलको वाग्मती किनारमा वृक्षरोपण गरिएको छ । वाग्मती सफाइ महाअभियानको आयोजनामा भएको वृक्षरोपणमा समी, आँप, तेजपत्ता, एभाकाडो, कपुर, फूलका करिब तीन दर्जन बिरुवा रोपिएको हो । वृक्षरोपणमा नायक पुष्प खड्का, हास्य कलाकार हिमेश पन्त, काठमाडौँ महानगरपालिका–११ का अध्यक्ष हीरालाल तण्डुकार, वडा नं ९ का सदस्य टेकराज अधिकारीलगायत सफाइ अभियानकर्मीको सक्रियता थियो ।
संयुक्त राष्ट्र सङ्घले सन् १९७२ देखि प्रत्येक वर्ष जुन ५ को अवसर पारेर विभिन्न कार्यक्रम आयोजना गरी विश्व वातावरण दिवस मनाउन सुरु गरेको हो ।

राष्ट्र सङ्घले वातावरण दिवस मनाउन सुरु गर्नुअघिदेखि नै नेपालमा सिठी नख पर्वका अवसरमा विशेषगरी पानीका मुहान सफा गर्ने परम्परा रहेको अभियानकर्मी नरेन्द्रबहादुर श्रेष्ठले जानकारी दिए । मेची महाकाली सफाइ अभियानले पनि यस अवसरमा देशका विभिन्न भाग वृक्षरोपण गरेको अभियानकर्मी चक्रबहादुर चन्दले जानकारी दिए । दक्षिण एशियाली समूह नामक संस्थाले पनि यस अवसरमा विभिन्न स्थानमा वृक्षरोपण गरेको जनाइएको छ । गत वर्ष यो कार्यक्रमको संयोजन नेपालले गरेको थियो । यसवर्ष भने यसको नेतृत्व भारतका अभियानकर्मी सुमन बस्नेतले गरेका छन्। यस अवसरमा नेपालसहित बङ्गलादेश, भारत, भुटान, म्यानमारलगायत देशमा वृक्षरोपण गरिएको छ । पृथ्वीमा निरन्तर भइरहेको वातावरणीय विनाश रोक्नु कार्यक्रमको उद्देश्य रहेको छ । वातावरणीय सन्तुलनका लागि बिरुवाले सहयोग गर्ने भएकाले दक्षिण एसिया क्षेत्रमै समूह बनाएर यो कार्यक्रम गत वर्षदेखि अघि बढाइएको हो ।रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot