Logo

संसदीय समिति छल्दै प्रधानमन्त्री



काठमाडौं, असार ६ । अमेरिकासँग गर्न लागेको भनिएको स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) सम्झौता र निकट भविष्यमा गरिन लागेको अमेरिका भ्रमणका विषयमा जानकारी लिन संघीय संसद्को अन्तर्राष्ट्रिय समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई आइतबारको बैठकमा बोलायो। तर देउवा बैठकमा उपस्थित भएनन्। प्रधानमन्त्री देउवाको सचिवालयले समितिलाई अन्तिम समयमा आएर कार्यव्यस्तताका कारण बैठकमा सहभागी हुन नसक्ने जानकारी गराएको थियो।

संसदीय शासन व्यवस्था भएका मुलुकमा संसदीय समितिलाई मिनी संसद् भन्ने गरिन्छ। जनताप्रति उत्तरदायी हुने यो शासन व्यवस्थामा प्रधानमन्त्रीको जिम्मेवारीमा पुगेका नेपालका राजनीतिक दलका शीर्ष नेताहरूले यस्ता समितिलाई कहिल्यै प्राथमिकतामा राख्ने गरेका छैनन्। जहिले पनि विभिन्न बहाना बनाएर संसदीय समितिका बैठकहरूलाई विगतका प्रधानमन्त्रीहरूले पनि छल्ने गरेका थिए। संसद्का समितिमा छलफलका लागि बोलाउँदा प्रधानमन्त्रीहरू समिति बैठक छलेर व्यक्तिगत काममा जाने गरेका छन्।

२०७४ सालयता सरकारको नेतृत्वमा दुईजना आए, तत्कालीन प्रधानमन्त्री केपी ओली र वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा। तर दुवैजना कुनै पनि संसदीय समितिको बैठकमा गएका छैनन्। देउवा गत २०७८ साउन ३ गते प्रधानमन्त्री भएका थिए। आइतबारको बैठकमा प्रधानमन्त्री देउवा समितिमा नगएपछि गठबन्धनको आडमा प्रधानमन्त्री संसदीय समितिमा नगएको भन्ने आरोप लगाइएको छ। यसअघि एमालेका प्रधानमन्त्री मात्र नभएर मन्त्री पनि झन्डै दुई तिहाइ बहुमतको बलमा समितिका बैठकहरूमा अनुपस्थित हुने गरेको आरोप लगाइएको थियो।

प्रधानमन्त्री देउवालाई संसदीय समितिमा नेपालको परराष्ट्र नीति कार्यान्वयन र प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे छलफल गर्न बोलाइएको थियो। तर उनले प्रतिनिधिसभा र संसदीय समितिमा एसपिपीको विषयमा स्पष्ट पार्न नखोजेको देखियो। त्यसैले प्रधानमन्त्री बैठकमा अनुपस्थित भएको आरोप प्रतिपक्ष दल एमालेले लगाएको छ। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot