Logo

एकै दिन २४ सयले गरे नारायणहिटी संग्रहालय अवलोकन, ४ लाख ६२ हजारको टिकट विक्रि



काठमाडौं, असार ७ । नारायणहिटी संग्रहालय खुलेको १४ वर्षपछि एकैदिन ४ लाख ६२ हजार रुपियाँको टिकट बिक्रि भएको छ । असार ४ गते शनिबार संग्रहालय र गणतन्त्र स्मारकमा पहिलोपटक २ हजार ४ सय १२ दर्शकले अवलोकन गरेका हुन् ।

संग्रहालयका सूचना अधिकारी बुद्धिबहादुर गुरुङले संग्रहालय खुलेपछि पहिलोपटक यति धेरै संख्यामा अवलोकन गर्नेको भीड भएको बताए । उनका अनुसार सो दिन सबैभन्दा बढी सर्वसाधारणको भीड लागेको थियो । नारायणहिटी संग्रहालय २०६५ फागुन १५ गतेबाट सर्वसाधारणका लागि खुला गरिएको थियो । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०६५ साल असार १ गते नारायणहिटी दरबारलाई राष्ट्रिय संग्रहालय घोषणा गर्नुभएको थियो । सोही वर्ष फागुन १५ गते प्रधानमन्त्री पुष्पकमल दाहालले संग्रहालयको उद्घाटन गरेका थिए।

१४ वर्षपछि यति धेरै संख्यामा पर्यटक आएका हुन् । कोभिडका कारण ९ महिनासम्म बन्द रहेको संग्रहालय गत मंसिरमा खुलेको थियो । संग्रहालय खुलेसँगै अवलोकन गर्नेको संख्या ह्वात्तै बढेको सूचना अधिकारी गुरुङले जानकारी दिए । उनले भने– ‘खुलेदेखि कम्तीमा पनि दैनिक करिब एक हजारको संख्यामा आन्तरिक, सार्क र अन्य मुलुकका पर्यटक आउन थालेका छन् ।’

संग्रहालय खुलेको दिनदेखि हालसम्म ३७ लाख ७५ हजार ५ सय ८५ जनाले अवलोकन गरेका छन् । पछिल्लो दुई महिनामा ५६ हजार ५ सय ८२ दर्शकले नारायणहिटी संग्रहालय परिसर अवलोकन गरेका थिए । वैशाखमा २७ हजार ३ सय ४९ र जेठमा २९ हजार २ सय ३३ जनाले संग्रहालय अवलोकन गरेका थिए ।

वैशाखमा १७ हजार ७ सय ९३ जना सर्वसाधारण, ६ सय ३१ विद्यार्थी, २ हजार ३४ जना सार्क राष्ट्र र ८ सय ८३ जना अन्य मुलुकका पर्यटकले अवलोकन गरेका थिए ।जेठमा १८ हजार ८ सय २६ सर्वसाधारण, ६ हजार ८ सय ४६ विद्यार्थी, ३ हजार ३ सय १३ सार्क र २ सय ४८ जना अन्य मुलुकका पर्यटकले अवलोकन गरेको सूचना अधिकारी गुरुङको भनाइ थियो ।

विकास समितिले प्रवेश शुल्कबापत प्रतिविद्यार्थी ५०, सर्वसाधारणलाई जनही २ सय, सार्क र चीनका पर्यटकलाई जनही ५ सय र अन्य मुलुकका पर्यटकसँग १ हजार रुपियाँ लिने गरेको छ । संग्रहालय प्रशासनले ९ वर्षभन्दा मुनि र ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था गरेको छ । समितिले श्रीसदन र गणतन्त्र स्मारकसमेत अवलोकन गर्न मिल्ने व्यवस्था गरेको छ । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot