Logo

ओलीपथमा देउवा



काठमाडौं, २७ असार । प्रधानमन्त्री शेरबहादुर देउवा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकै बाटोमा बढ्न थालेका छन् । उनले विगतमा ओलीले चालेकै कदमहरु चाल्दै राज्य संचालन गर्न थालेका छन् ।

ओलीले सत्तामा रहँदा संसदलाई छलेर अध्यादेशमार्फत् राज्य सञ्चालन गर्दथे । अहिले देउवाले त्यस्तै गतिविधि गर्न थालेका छन् । उनलाई संसद नै अवरोध हुन थालेको छ ।

देउवाले कुनैपनि बेला संसद विघटनको बाटो समेत लिनसक्ने विश्वस्त स्रोतले बताएको छ । आफूलाई कुनैपनि बेला अल्पमतमा पार्न खोजिएको चाल बालुवाटारले पाएपछि विघटनको विकल्पमा समेत देउवा तयारी अवस्थामा रहेको बुझिएको छ ।

देउवाले संवैधानिक परिषद्को गणपूरक संख्या र निर्णय प्रक्रियामा विद्यमान कानूनी व्यवस्था संशोधन गर्न कदम चालिसकेका छन् । सरकारले राष्ट्रिय सभामा विधेयक नै दर्ता गराएको छ । विधेयकमा परिषद्मा अध्यक्ष र तत्काल बहाल रहेका कम्तीमा ५० प्रतिशत सदस्य उपस्थित भएमा गणपूरक संख्या मानिने प्रावधान राखिएको छ । विगतमा ओलीले यही कदम चालेर नियुक्ति दिलाएका थिए ।

संवैधानिक परिषद्मा प्रधानमन्त्री अध्यक्ष रहने व्यवस्था छ । सदस्यहरुमा प्रधानन्यायाधीश, सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष र विपक्षी दलका नेता रहन् प्रावधान छ । उपसभामुख पद रिक्त छ । देउवा परिषद्का पदेन अध्यक्ष छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा निलम्बित भएकाले दीपककुमार कार्की सदस्य छन् । सभामुखमा माओवादीबाट अग्निप्रसाद सापकोटा छन् । एमालेबाट गणेश प्रसाद तिमिल्सिना राष्ट्रिय सभाका अध्यक्ष र एमाले अध्यक्ष केपी शर्मा ओली विपक्षी दलका नेता छन् ।

हाल अध्यक्षसहित ५ जना संवैधानिक परिषद्मा रहेकाले ओली र तिमिल्सिना बैठकमा सहभागी नभएपनि देउवासहित ३ जनाले नियुक्ति गर्न खोजेको देखिन्छ । विगतमा ओलीले यही रणनीति अपनाएका थिए । देउवाले त्यस्तै गर्न खोजेका छन् । ओलीको पालामा भएका यस्तै नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ ।

यसैगरी, दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर देउवाले नेकपा एमालेको विभाजन सहज बनाइदिएका थिए । यही अध्यादेशमार्फत् जनता समाजवादी पार्टी पनि विभाजित भयो । विगतमा ओलीले यस्तै अध्यादेश ल्याएर जसपा विभाजन गर्न खोजेका थिए । तर, असफल भएपछि अध्यादेश फिर्ता गरे ।

आफू अनुकूलको निर्णयहरु गराउन सत्तामा बस्नेहरुले विभिन्न हतकण्डाहरु अपनाउने गर्दछन् । विगतमा ओलीले त्यस्तै गरेका थिए अहिले देउवाले गर्न थालेका छन् । व्यक्ति बदलिए पनि प्रवृत्ति उस्तै देखिएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot