Logo

दिवङ्गत आमाको सम्झनामा मातातीर्थ कुण्डमा भक्तजनको भीड (फोटोफिचर)



काठमाडौं, वैशाख २६ । आज मातातिर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिन । आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गरी आशिर्वाद लिएर मातातिर्थ औंसी मनाइँदैछ । वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व आज जन्म दिने आमालाई मीठा मीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पारी मनाइँदैछ । आमा नभएकाहरू भने आमाको नाममा श्राद्ध गर्दै आमाको सम्झना गर्छन् । दिवङ्गत आमाको सम्झनामा श्राद्ध तथा दान गर्न बिहान सबेरैदेखि मातातिर्थ कुण्डमा स्नान गर्नेहरुको भीड छ । मेलामा सहभागी भई कुण्डमा दर्शन गरेमा आमा दिवंगत हुने छोराछोरीले आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुने जनविश्वास छ ।

आजको दिन दिवङ्गत आमाको सम्झनामा चन्द्रागिरि नगरपालिकामा रहेको थानकोट नजीकैको मातातीर्थमा मेला लाग्छ । आमा नहुने नरनारी बिहानै उक्त तीर्थमा गई स्नान तथा हरिहर (विष्णु र शिव)को दर्शन र पूजा गर्छन् । आमा बित्नेले सके प्रत्येक वर्ष नसके एक पटक मातातीर्थमा श्राद्ध गर्नुपर्ने मान्यतासमेत छ । कुण्डमा स्नान गरेपछि आफ्नो आमाको मुक्तिको कामना गर्दै तर्पण दिन्छन् । दिवंगत माताको स्मरणमा उक्त कुण्डमा स्नान गरेर पवित्र मनका साथ तर्पण दिएपछि र पोखरीमा हेरेमा जन्म दिने माताको स्वरूपको दर्शन पाइने जनविश्वास छ । उक्त कुण्डमा वैशाख कृष्ण औँसीका दिन एक जना ग्वालाले प्यास लागेर पानी खान जाँदा दिवंगत भएकी आफ्नो माताको स्वरुप देखेको किंवदन्ती पाइन्छ ।

फोटोः मुकुन्द कालिकोटे रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्

Screenshot