Logo

कांग्रेस बैठकमा नयाँ प्रस्ताव उम्मेदवार छान्न ‘प्राइमरी इलेक्सन’



काठमाडौं, साउन १ । नेपाली कांग्रेसभित्र आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि पार्टी उम्मेदवार छान्न आन्तरिक निर्वाचन अर्थात् ‘प्राइमरी इलेक्सन’ प्रस्ताव आएको छ ।

ललितपुर सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समिति बैठकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले ‘आगामी निर्वाचनका लागि उम्मेदवार चयन गर्न केही क्षेत्रमा क्रियाशील सदस्यमाझ निर्वाचन गर्न सकिने’ प्रस्ताव राखेका हुन् ।

‘१ सय ६५ संघीय निर्वाचनमध्ये १५ र ३ सय ३० प्रदेश निर्वाचन क्षेत्रमध्ये ३० क्षेत्र जतिमा उम्मेदवार चयन गर्न क्रियाशील सदस्यमाझ प्राइमरी इलेक्सन गर्ने कि? त्यसबारे छलफल प्रारम्भ गरौं,’ शनिबारको बैठकमा महामन्त्री शर्माले प्रस्ताव गर्दै भने । उनले सो प्रक्रियामार्फत ‘चयन गर्दा उम्मेदवार छनोट लोकतान्त्रिक अभ्यासमा कांग्रेस एक कदम अघि हुने’समेत दाबी गरे ।

‘यसरी उम्मेदवार चयन गर्दा लोकतान्त्रिक अभ्यास उच्चतम प्रयोग नेतृत्वमा कांग्रेस अरूभन्दा एक कदम अघि हुनेछ र कांग्रेसप्रतिको आकर्षण पछिल्लो पुस्तामा भीषण ढंगले बढाउनेछ,’ शर्माले बैठकमा भने ।

कांग्रेसभित्र आगामी निर्वाचनमा ‘सत्तारूढ गठबन्धन आबद्ध दलबीच चुनावी तालमेल गर्ने कि नगर्ने रु’ भन्ने’दयगत बहस भइरहेकै बेला महामन्त्री शर्माको नयाँ प्रस्ताव ल्याएका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवासहितका शीर्षनेता आगामी निर्वाचनमा गठबन्धन आबद्ध दलबीच चुनावी तालमेलका पक्षमा र केही दोस्रो तहका नेता गठबन्धन गर्दा आफ्नो सिट गुम्ने भयमा छन् । कांग्रेसभित्र गठबन्धन विषयमा बहस जारी रहँदा महामन्त्री शर्माले ‘नयाँ अभ्यास प्रस्ताव’ अघि बढाएका छन् ।

आन्तरिक निर्वाचनमा विजयी उम्मेदवारलाई प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवार बनाउँदा पार्टीभित्रबाट कायम हुने उम्मेदवार बलियो हुने र परिणाम पनि सकारात्मक आउने महामन्त्री शर्माको विश्वास छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्