Logo

फिल्मी शैलीमा बुवाको हातबाट १ वर्षीया छोरीको अपहरण



काठमाडौं, ५ साउन । मोरङका दिपेन यादवकी एक वर्षकी छोरी निकिशाको अपहरण फिल्मी शैलीमा फिरौती माग्ने उद्देश्यले भएको थियो । बालिका अपहरणको आरोपमा अनु साह र रवीन्द्रकुमार साहलाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार बिहान अपहरित बालिकाको भारतको दरभंगाबाट प्रहरीले मंगलबार उद्दार गरेको हो । अनुले रवीन्द्रको सल्लाह अनुसार बालिकाको बाबुसँग हिमचिम बढाएकी थिइन् । फिरौती माग्ने उद्देश्यले अपहरणको योजना बनाएपनि उनीहरुको रकम असुल्ने योजना प्रहरीले विफल बनाएको छ ।

प्रहरीको अनुसार अनु र रवीन्द्र ३ वर्षदेखि निकटतम सम्बन्धमा थिए । बालिका अपहरण भएको दिन सोमबार अनुले दिपेनलाई भेटघाटका लागि बोलाइन् । छोरी लिएर आउनु हेर्न मन लागेको अनुको कुरा सुनेर दिपेनले १ वर्षकी छोरीलाई गाडीमा राखेर पुगे । छोरी लिएर गएका दिपेनको कारमा अनु चढिन् र उनले बालिकालाई काखमा लिएर उनले लगाएको लुगा फेरिदिइन् । उनीहरु चिया खान कलेज रोडमा लागे ।
बालिका अनुको काखमा छाडेर दिपेन चिया अर्डर गर्न गए । बच्चा बोकेकी अनुले दिपेनको फोन मागेर कसैलाई फोन गर्दै बालिका बोकेर अनु बाहिरिन् ।

केही पर रवीन्द्र मोटरसाइकल तयार गरेर बसेका थिए । सोही बाइकमा अनु र रवीन्द्र बालिका बोकेर गए । यता दिपेन आफ्नी छोरी र अनुलाई पर्खेको पख्यै भए ।

धेरै बेर नआएपछि दिपेनलाई शंका लाग्न थाल्यो । अनु र रवीन्द्रले बालिकालाई दुहवी, इनरुवा हुादै कुनौली पुर्याएको र त्यहाँबाट दरभंगा फर्केका थिए । मोरङ प्रहरीले भारतबाटै अनुलाई पक्राउ गरेर बालिकाको उद्दार गरेको प्रहरीले जनाएको छ । रवीन्द्र भने बुढीगंगाबाट पक्राउ परेका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot