Logo

चुनावपछिको प्रधानमन्त्रीका आकांक्षी को को



काठमाडौं, २१ साउन । राजनीतिक गर्ने धेरैको सपना देशको राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री जस्ता पदमा पुग्ने नै हुन्छ । थोरै मात्र राजनीतिक मुद्दा पूरा गर्न सक्रियतापूर्वक लागिपर्छन् ।

देशमा चुनाव नजिकिदै गर्दा आउँदो प्रतिनिधि सभामा बहुमत सदस्यको समर्थन पाएर प्रधानमन्त्री बन्ने सपना धेरैले पालेका छन् । कतिपयले मुखै खोलेर आकांक्षा प्रकट गरिसके । आलोपालो प्रधानमन्त्रीको सहमति गरेर अहिले नै भद्र सहमतिका प्रसंग पनि उठेका छन् ।

प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा ज्योतिषले सात पटक प्रधानमन्त्री बन्ने बताउने गरेका छन् । उनले अर्कोपटक पनि आफू सभापति बन्ने कुरा पनि गरिसके । देउवामा अझै प्रधानमन्त्री बन्ने इच्छा देखिन्छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफूलाई चुनावपछिको प्रधानमन्त्रीका रुपमा प्रस्तुत गर्न थालिसकेका छन् । उनले आलोपालो प्रधानमन्त्रीको प्रसंग पनि उठाएका छन् । चुनावपछि प्रचण्ड प्रधानमन्त्रीका आकांक्षी देखिएका छन् । उनले एकपटक प्रधानमन्त्री बनेर सम्झनलायक काम गर्ने अन्तिम इच्छा रहेको समेत बताइसके ।

नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले आफूले अहिले नै मैदान नछाड्ने बताए । उनी पनि प्रधानमन्त्रीका दाबेदार बनेका छन् ।

नेपाली काँग्रेसभित्र प्रकाशमान सिंहले प्रधानमन्त्री बन्ने चाहना खुलाए । उनले आज राजधानीमा बोल्दै यस्तो चाहना खुलाएका हुन् । काँग्रेसमा रामचन्द्र पौडेल, विमलेन्द्र निधि, डा. शेखर कोइराला, डा. सशांक कोइराला, कृष्णप्रसाद सिटौला, पूर्णबहादुर खड्का मात्र नभई पछिल्लो पुस्ताका धनराज गुरुङ, गगन थापा, विश्वप्रकाश शर्मालगायत नेताहरु पनि प्रधानमन्त्रीका दाबेदार देखिएका छन् ।

पूर्वप्रधानमन्त्रीहरु झलनाथ खनाल डा. बाबुराम भट्टराई पनि प्रधानमन्त्री बन्ने इच्छाका साथ बढेको देखिन्छ ।

मधेशका नेताहरुमध्ये महन्थ ठाकुर पनि प्रधानमन्त्री बन्ने इच्छा राख्दै आएका छन् । उनको पनि चुनावपछि प्रधानमन्त्री बन्ने प्रयास रहने देखिएको छ । उपेन्द्र यादव पनि प्रधानमन्त्रीका दाबेदार बन्दै आएका छन् ।

चुनावपछिको प्रधानमन्त्रीका लागि राजेन्द्र लिङ्देन मात्र नभई नयाँ पार्टी खोलेका रवि लामिछानेको समेत चाहना देखिन थालेको छ । यसरी देशमा २० भन्दा बढी नेताहरु चुनावपछि प्रधानमन्त्री बन्ने चाहनाका साथ बढेको देखिन्छ ।

देशमा बहुदल आएपछि कुनैपनि प्रधानमन्त्रीले पाँच वर्ष प्रधानमन्त्री बनेको इतिहास छैन । अधिकतम ३ वर्ष र न्यूनतम केही महिनामात्र प्रधानमन्त्री बनेको इतिहास छ । यसरी देशमा प्रधानमन्त्री चाँडै फेरिने अवस्थाका कारण दाबेदार पनि बढी देखिनु स्वाभाविक नै मान्नुपर्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot