Logo

१५ वर्षीय बालकको मृत्यु भएपछि सुन्दरीजलको पिडालु बारी (बोक्सी दह)मा प्रवेशमा रोक नलगाए आन्दोलन गर्ने चेतावनी



काठमाडौं, २३ साउन । गत साउन ७ गते शनिबार काठमाडौं गोकर्णेश्वर नगरपालिका–१ अन्तर्गत रहेको सुन्दरीजलको बोक्सी दह भनेर चिनिने पिडालु बारीमा लडेर मृत्यु भएका शुभमश्री प्रधानको परिवारले उक्त क्षेत्रमा सर्वसाधारणलाई प्रवेशमा रोक लगाउन माग गरेको छ ।

सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका–५ तौथली लाखलखम्बर डबली स्थायी घर भएका दयाश्री प्रधान (बाबुराम) को १५ वर्षीय छोरा शुभमको पौडी खेल्ने क्रममा चिप्लिएर लडेर दहमा डुबेर मृत्यु भएको थियो । हराएको २३ घण्टापछि मात्रै उनको शव भेटिएको थियो ।

सरकारले तत्काल उक्त क्षेत्रमा जान रोक नलगाएमा अझै धेरैजना बालबालिकाको ज्यान जानसक्ने भन्दै मृत्तकका बुवा दयाश्री प्रधानले तत्काल उक्त क्षेत्रमा तारबार, जाली गरेर भएपनि राख्नुपर्ने माग गरे । उनले यसबारेमा सरकारले हेलचक्र्याँई गरेमा कडा आन्दोलन गर्ने चेतावनी दिए ।

रिपोर्टर्स नेपालसँग कुरा गर्दै उनले भने,‘प्रत्येक वर्षको असारदेखि असोजसम्म करिब ८ देखि ११ जना बालबालिकाहरुको बोक्सी दहमा मृत्यु हुने स्थानीयहरुले भन्दै आएका छन्, त्यस्तो हुँदापनि सरकारले केही गर्न सकेको छैन्, त्यहाँ जान रोक लगाएमा मेरो जस्तै कयौं बाबुआमाले सन्तान गुमाउनु पर्दैनथ्यो ।’

आफ्नो छोरासहित आजसम्म उक्त दहमा मृत्यु भएका सबै बालबालिकाको परिवारलाई राज्यले क्षतिपुर्ति दिनुपर्ने उनको माग छ । उनले भने,‘सरकारले नै मान्छे मार्न एम्बुस थापेको हो । त्यसको क्षतिपुर्ति राज्यले दिनुपर्छ ।’ यसअघिका स्थानीय प्रतिनिधिहरु मौन बसेकोमा उनले आपत्ति जनाए ।

उनले उक्त दहको नाम परिवर्तन गरेर आफ्नो छोराको नाम राख्नुपर्ने आग्रह गरेका छन् । वर्षौदेखि उक्त क्षेत्रमा त्यस्ता घटना भइरहेको र ती पीडित परिवार मौन बस्दा अरु बालबालिकाहरु गुमाउन परेको उनले दाबी गरे ।

उनले आजसम्म सोही दहमा आफ्ना सन्तान गुमाएका परिवारलाई आफुसँग वा सम्बन्धित निकायसँग सम्पर्क गर्न आग्रह गरे । उनले भने,‘मलाई पुत्र वियोग परेझै अरुलाई त्यस्तो पीडा भोग्न नपरोस् ।’

उनले सरकारले चाडो भन्दा चाडो ध्यान नदिए आमरण अनसन बस्नेसमेत चेतावनी दिए । उनले भने,‘सबै पीडितहरुको संगठन विस्तार गरेर कडा आन्दोलन गर्छौ । आन्दोलनको आधीहुरी ल्याउछौं । तार, बार जाली गर्नुभन्दा पहिल्यै राज्यले स्टेअर्डर जारी गर्नुपर्छ ।’
उनले मृत्तक छोराको नाममा किरियापुत्री भवन, पशुपति मन्दिर परिसरमा १३औं पुण्यतीथिको अवसरमा वरपिपलसहित बृक्षारोपण गरेको बताए ।

किरियापुत्री भवन, पशुपति मन्दिर परिसरमा वाइफाई १ वर्षको लागि निशुल्क गरिदिएको पनि उनले स्पष्ट पारे । त्यस्तै, कुर्सी एक थान हस्तान्तरण गरेको भन्दै प्रधानले किरियापुत्री भवनमा वाइफाइ १० वर्षसम्म निशुल्क गर्ने तयारी गरिरहेको जानकारी दिए ।
घटनास्थललाई पोखराको डेबिटफल्स जस्तो पर्यटकीय स्थल बनाउनु पर्नेमा उनले जोड दिए । आफुलाई गाह्रोपर्दा विभिन्न पार्टीका व्यक्ति र स्थानीयहरुले साथ र सहयोग गरेको सुनाए ।

उक्त क्षेत्रको विषयमा सबै मौन बसेको भन्दै बोक्सी दहको बारेमा उनले सामाजिक र हिन्दु अभियन्ताहरुले पनि चासो नदिएको गुनासो पोखे । उक्त क्षेत्रको खोजी अनुसन्धान गर्नुपर्ने उनको भनाई थियो । उनले भने,‘नेपालका नदीहरु इन्द्रावती, सप्तकोशी, त्रिशुली लगायतका विभिन्न स्थानमा यस्ता घटना हुन्छन् ती स्थानको पनि खोजी गरिनुपर्छ ।’

आफुले आफ्नो सन्तान त गुमाए पनि अरुले त्यस्तो भोग्न नपरोस् भन्ने उदेश्यले यो अभियान चलाउन लागेको उनले स्पष्ट पारे । उनले भने,‘मेरो बाबु अब फर्केर आउँदैन् मेरो जस्तै अरु मानिसहरु सन्तान गुमाउन नपरोस्’

घटनास्थल बोक्सी दहबारे सत्यतथ्य बाहिर ल्याउन धार्मिक सभाको आयोजना गर्नुपर्ने बताए । उनले भने,‘होम गरेर, मन्दिर बनाएर, सप्ताह गरेर के गरेर हुने हो ? मृतात्मालाई शान्ति दिन पर्यो, त्यो क्षेत्रमा अब त्यस्ता घटना नहुन भनेर त्यसबारे गहिरो अध्ययन गरिनुपर्यो ।’

 

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot