Logo

शेखर समूहको विद्रोह रोक्न देउवा सक्रिय



काठमाडौं, ३० साउन । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले विद्रोहको चेतावनी दिंदासम्म सभापति शेरबहादुर देउवाले खासै गम्भीरतापूर्वक लिएका थिएनन् । कोइरालाले असारमा आफू पक्षधर नेताहरु भेला गरेर रचनात्मक विद्रोहको चेतावनी दिएका थिए ।

चुनावमा टिकट बाँडफाँटको समय नजिकिदै गर्दा शेखर कोइरालाले आफूनिकट भातृ तथा भगिनी संस्थाका कार्यकर्तालाई समानान्तर कमिटी गठन गरेर जान निर्देशन दिए । उनीपक्षधरको भेला दिन दिनै बस्न थाल्यो । बैठकमा पार्टी विभाजनसम्मको कुराहरु उठ्न थाल्यो ।

टिकट बाँडफाँट गर्दा शेखर समूहले ४० प्रतिशत माग राख्न थाल्यो । टिकट पाउने सम्भावना कम भएकाहरुले विकल्पमा जानुपर्नेमा जोड दिन थाले ।

शेखरनिकटस्थले निर्वाचन आयोगमा पार्टी समेत दर्ता गरेर तयारी अवस्थामा बसेको बुझिएको छ । चुनावको मुखमा शेखर समूहले पार्टी फुटाउन पनि सक्ने खतरा देखेर देउवाले २९ साउनको साँझ शेखर कोइरालालाई डाकेर गम्भीर छलफल गरे । उनले टिकट बाँडफाँटमा अन्याय नहुने आश्वासन दिए ।

आज काँग्रेसको अभिमुखीकरण कार्यक्रममा सम्बोधन गर्दा पनि देउवाले टिकट बाँडफाँट न्यायोचित तरिकाले बाँडिने र अन्याय हुन नदिने बताए । यसरी देउवा शेखर कोइराला समूहलाई विद्रोहबाट रोक्न सक्रिय भइसकेको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्