Logo

प्रचण्ड शक्तिसञ्चयमा, माओवादीसँग कति सिट जित्ने शक्ति



काठमाडौं, १ भाद्र । नेकपा माओवादी केन्द्र शान्तिपूर्ण राजनीतिक मूलधारमा आएपछि २०६५ को संविधान सभा चुनावमा झण्डै बहुमतको नजिक पुग्यो । माओवादीको पक्षमा आएको त्यो लहर त्यसपछिका दुईवटा चुनावमा आउन सकेन ।

२०७० को दोस्रो संविधानसभा चुनावमा माओवादी तेस्रो स्थानमा खुम्चियो । माओवादीको अस्तित्व नै संकटमा पर्नसक्ने घटना विकास भयो । अध्यक्ष प्रचण्ड दुई स्थानबाट चुनाव लडेकामा काठमाडौं १० बाट पराजित भए । सिराहाबाट उनको झीनो मतान्तरले जीत सफल भयो । तर, वामपन्थी गठबन्धन बनाएर चुनाव लड्दा माओवादीले २०७४ को चुनावमा अपेक्षाकृत सफलता हासिल गरेको थियो । प्रत्यक्षतर्फ मात्र उसले ३६ सिटमा जित्यो । तर, माओवादीको समानुपातिकतर्फ मत घट्दा तेस्रो स्थानमा खुम्चियो ।

माओवादी र एमाले मिलेर नेकपा बन्यो । तर, त्यो एकता तीन वर्ष पनि टिकेन । नेकपा फुट्दा माओवादीका केही हस्ती नेताहरु एमालेमै रहे । जसमध्ये रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट र प्रभु साह मुख्य हुन् । उनीहरुमध्ये रायमाझी र साह प्रत्यक्षतर्फ प्रतिनिधि सभामा निर्वाचित सांसद हुन् । गौरीशंकर चौधरी पनि प्रत्यक्षतर्फ निर्वाचित सांसद हुन् । ३६ मध्ये ४ प्रत्यक्षतर्फ निर्वाचित सांसदले माओवादी छाडेनन् मात्र संसद सदस्य नै गुमाए ।

माओवादीको पछिल्लो आरोह र अवरोहलाई दृष्टिगत गरी उसले जनयुद्ध लडेका केही हस्तीविना नै चुनाव लड्नुपर्ने हुन्छ । तर, माओवादी छाडेका डा. बाबुराम भट्टराई एउटै चुनाव चिन्हमा चुनाव लड्ने गरी समझदारी गर्न पुगेका छन् । विप्लव देखि मोहन वैद्य किरणसम्म र गोपाल किराँती देखि लोकेन्द्र बिष्टसम्म माओवादीमा छैनन् ।

गठबन्धनमा माओवादीले ५० सिट दाबी गरेको छ । उसले २०७४ को चुनावमा जितेको ३६ सिट भने नछाड्ने अडान कस्न सक्छ । छाडेपछि त्यसको साटो अर्को क्षेत्र माग्न सक्छ । माओवादीको एक्लै चुनाव जित्नसक्ने सिटहरुमा रोल्पा, रुकुम, जाजरकोट जस्ता क्षेत्रहरु पर्दछन् । २०७० को कठिन चुनावमा समेत जितेका टोपबहादुर रायमाझी, लेखराज भट्ट र प्रभु साह माओवादीमा नहुनुको नोक्शान पर्न सक्छ । उनीहरु लगातार तीन कार्यकाल चुनाव जितेकामा पर्छन् ।

गठबन्धनमा मागेको प्रतिनिधि सभाको सिटमध्ये विगत चुनावमा जति मात्र जित्न सके माओवादीका लागि ठूलो उपलब्धि हुनसक्छ । तर, माओवादी विगतमा भन्दा प्रगति हासिल गर्ने गरी रणनीतिक तरिकाले लागेको छ । प्रचण्डले विस्तारै अन्य दल तथा समूहका नेताहरुलाई समेट्न थालेका छन् । बाबुराम भट्टराई र वामदेव गौतम माओवादीको चुनाव चिन्हबाट चुनाव लड्नेमा समझदारी गरिसकेका छन् । यसरी प्रचण्डले पुनः शक्ति सञ्चय गर्न थालेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot