Logo

काँग्रेस र एमाले एक्ला एक्लै चुनाव लडे के होला



काठमाडौं, ८ भाद्र । प्रतिनिधि सभा, प्रदेश सभा र कार्यकर्ता संगठनलाई दृष्टिगत गर्दा देशमा नेकपा एमाले र नेपाली काँग्रेस सबैभन्दा बलियो दल छन् । स्थानीय चुनावको नतिजाले पनि यी दुई दललाई शक्तिशाली बनाएको छ ।

अहिले काँग्रेससहित नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धन छ । मंसिर ४ को चुनावमा यी दलले गठबन्धन बनाएर जाने सहमति गरेका छन् ।

गठबन्धनमा चुनावी सिटको बाँडफाँटमा कुरा मिलेको छैन । एमाले पनि साना दललाई मिलाएर गठबन्धनमा जाने तयारीमा छ । तर, काँग्रेस र एमालेबीचको आमने सामनेमा तेस्रो, चौंथोलगायतका शक्तिले फाइदा लिन खोजिरहेका छन् ।

एमालेले काँग्रेसलाई एक्ला एक्लै चुनाव लड्न चुनौती दिने गरेको छ । यो एमालेको सन्देश पनि हो । वास्तवमा काँग्रेस र एमाले एक्लाएक्लै चुनाव लडेमा माओवादी, एस, जसपा, लोसपालगायतका दलहरुलाई झड्का लाग्न सक्छ ।

माओवादीले २०७४ को चुनावमा एमालेसँग गठबन्धन गरेर प्रत्यक्षतर्फ ३६ सिट जित्दा समानुपातिकतर्फ आधाभन्दा कम १७ मात्र जित्यो । जब कि एक्लै एमाले र माओवादीको गठबन्धनमा चुनाव लडेको काँग्रेसले प्रत्यक्षतर्फ २३ सिट जित्दा समानुपातिकतर्फ ४० सिट जितेको थियो ।

गठबन्धन गर्दा माओवादीलाई सबैभन्दा फाइदा पुग्यो । यसपटक पनि माओवादीले काँग्रेससँग मिलेर चुनाव लड्ने तयारी गरेको छ । उसले गठबन्धनबाट फाइदा लिने रणनीति बनाएको छ ।

गठबन्धन असफल भएर काँग्रेस र एमाले एक्लै चुनाव लडेमा १६५ सिटमा बहुसंख्यक सिट यी दुई दलले जित्न सक्छन् । स्थानीय चुनावको मतपरिणामलाई आधार मान्दा पनि केही निर्वाचन क्षेत्रमा बाहेक सबैजसोमा काँग्रेस र एमाले बलियो स्थितिमा छन् । कुल मतमा पनि यी दुई दल निकै अगाडि छन् । यसकारण एमाले र काँग्रेस एक्लै चुनाव लडेमा अन्य शक्तिलाई नराम्रो धक्का लाग्न सक्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot