Logo

भीम रावललाई धमलाको प्रश्नः “तपाईंले त केपी ओलीको प्रशंसा गर्न थाल्नुभयो नि”



काठमाडौं, १२ भदौ । नेकपा एमालेका नेता भीम रावलले वामपन्थीहरुको सहकार्यबाट बहुमत ल्याउने दाबी गरेका छन् । “समान विचारधारा र सिद्धान्त भएका दलहरुबीचको सहकार्यले मात्र देशलाई निकास दिन सक्छ । त्यसो हुन नसके लोकतन्त्रमा विकृति जन्माउँछ । विगतका क्रियाकलाप सच्चाएर जाने हो भने वामपन्थी सहकार्यबाट बहुमत ल्याउन मद्दत गर्छ,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता रावलले भने ।
एमालेले केपी शर्मा ओलीलाई नै भावी प्रधानमन्त्री घोषणा गरिदिएपछि तपाईं त केपी शर्मा ओलीको प्रशंसा गर्न थाल्नुभयो नि भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, “म विषयवस्तु हेरेर मात्र व्यक्तिको समर्थन वा आलोचना गर्छु । आँखा चिम्लेर प्रशंसा पनि गर्दिनँ, विरोध पनि गर्दिनँ । नेकपा एमालेको देशव्यापी संगठन छ । एउटा राजनीतिक दलले भावी प्रधानमन्त्री घोषणा गर्नु स्वाभाविक हो । तर निर्वाचनबाट बहुमत गएपछि मात्र कार्यान्वयन हुन्छ ।”
समानुपातिकमा नदोहोर्‍याउने पार्टीको उम्मेदवार छनोटका व्यवहारमा कार्यान्वयन गर्न सक्नुपर्ने पनि रावलले औंल्याए । साथै उनले राष्ट्रपतिले राजीनामा दिनुपर्छ मनोवैज्ञानिक हल्ला फैलाइएको आरोप पनि लगाए । रावलले थपे, “हामीले २०७२ को संविधानमै वैवाहिक अंगीकृत नागरिकताका निम्ति ५ देखि ७ वर्षसम्म राख्नुपर्छ भनेका थियौं । तर एउटा पक्षले संविधानमा आगो लगाएको स्थितिमा स्थगित गरेका थियौं । विदशीको भक्ति गरेर शक्ति आर्जन गर्ने र राष्ट्रियतामाथि धावा बोल्ने कार्य हुन सक्दैन ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot