Logo

हुम्ला आउँदै भारतीय ‘सद्गुरु’



काठमाडौँ,२४ भदौ । हिन्दू र बौद्ध धर्मावलम्बीको महत्वपूर्ण तीर्थस्थलका रुपमा चिनिने कैलाश मानसरोवरको दर्शनका लागि भारतीय प्रख्यात योगगुरु ‘सद्गुरु’ आज हुम्ला आउँदै छन् ।

नेपाली भूमि हुम्लाको लिमि लाप्चाबाट कैलाश मानसरोवर दर्शनका लागि नेपाल पुगेका ‘सद्गुरु’ आज हेलिकोप्टर चार्टर गरेर सिमकोट आउन लागेको प्रमुख जिल्ला अधिकारी सीता परियारले जानकारी दिइन्। चीनको वुहान प्रान्तबाट २०२० मा सुरु भएको कोभिड–१९ का कारण धार्मिक तथा सांस्कृतिक महत्वको कैलाश मानसरोवार आवतजावत गर्न चिनियाँ पक्षको रोक छ । दोस्रो पटक सद्गुरु हुम्लाको भू–भागबाटै दर्शन गर्ने गरी हुम्ला आउन लागेको प्रमुख जिल्ला अधिकारी परियारले जानकारी दिइन् । सद्गुरुको हुम्ला आवागमनका बारेमा सबै तयारी पूरा भएको बताइएको छ ।

नेपाली भूभाग लाप्चा भञ्ज्याङबाट कैलाश मानसरोवरको दर्शनका लागि आज हेलिकोप्टर चार्टर गरेर सद्गुरु नेतृत्वको टोली सिमकोट पुग्ने कार्यक्रम छ । सद्गुरुसँग आज मात्र ४० भन्दा बढीको टोली आउने छ । सद्गुरुको टोली पोखराबाट हेलिकोप्टरमा सिधै सिमकोट विमानस्थल अवतरण गर्ने उनको भ्रमणको जिम्मा लिएको द ट्रेकर सोसाइटीले जनाएको छ ।

आज बिहान सिमकोटमा भएका दुई हेलिकोप्टर पोखरा गएमा १० र नगए आठ वटा हेलिकोप्टरमा एकै साथ सद्गुरुको टोली सिमकोट आउने भएको द ट्रेकर सोसाइटीका हुम्ला प्रतिनिधि राजन अधिकारीले बताए । (सद्गुरु)को टोलीले पूर्णिमाको मौका पारेर शनिबार (भोलि) हेलिकोप्टरबाट गएर लाप्चा भञ्ज्याङबाट कैलाश मानसरोवरको दर्शन गर्ने कार्यक्रम छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot