Logo

सिट बाँडफाँट कार्यदलको बैठक बस्दै, जुट्ला त सहमति ?



काठमाडौं, भदौ २६ । सिट बाँडफाँटमा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ । अहिले बिहान ८ बजेदेखि सुरु हुने भनिएको बैठकमा सिट बाँडफाँटमा सहमति टुङ्ग्याउने गठबन्धनमा आवद्व शिर्षनेताहरुको तयारी छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने आजको बैठकलाई निर्णायक रुपमा हेरिएको छ । यसअघि शनिबार बसेको बैठकपछि सहमतीलाई अन्तिमरुप दिन मात्रै बाँकि रहेको नेताहरुले बताएका थिए । शनिबारको बैठकमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी नभएकोले सहमतिलाई अन्तिम रुप दिन नसकिएको बताइएको थियो ।

पाँच दलीय गठबन्धनले सिट बाँडफाँटका लागि बनाएको कार्यदलले शीर्ष नेतालाई प्रतिवेदन बुझाईसकेको छ । कार्यदलले सिट संख्या शीर्ष नेताहरूले नै टुंग्याउने गरी प्रतिवेदन बुझाइएको हो । कार्यदलले मोटामोटी रुपमा सहमति कायम गरेपनि नमिलेका ठाउँमा शीर्ष नेताहरूले मिलाउने तयारी अनुसार प्रतिवेदन बुझाइसकेको छ ।

निर्वाचन क्षेत्रअनुसार पहिले प्रतिनिधिसभातर्फको सिट बाँडफाँट तयारी गर्दै आएको गठबन्धनले केही निर्वाचन क्षेत्रमा दुई पक्षीय तथा केहीमा त्रिपक्षीय दाबी भएपछि कार्यदलले अपुरो प्रतिवेदन नै शीर्ष नेतृत्वलाई दिएको छ ।

गठबन्धनभित्र शीर्ष तहमा नेपाली कांग्रेसले ८५, लोकतान्त्रिक समाजवादीसहितका दललाई समेट्दा ९०, माओवादी केन्द्रले ४० देखि ४५, नेकपा एकीकृत समाजवादीलाई १८, जसपालाई १५ र राष्ट्रिय जनमोर्चालाई २ सिट दिनेगरी प्रारम्भिक खाका तयार गरिएको थियो । सो खाकामा नेकपा एकीकृत समाजवादी र जसपाको असमति रहँदै आइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot