Logo

पर्यटनमन्त्री श्रेष्ठद्वारा हडपेको संरचना आफैं हटाउने अष्टमानलाई सम्मान



काठमाडौं, २९ भदौ । सरकारी जग्गा हडपेर बनाएको संरचना आफैं हटाउने अष्टमान महर्जनलाई बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले सम्मान गरेका छन् । काठमाडौं महानगरपालिका वडा नम्बर १० देवीनगरस्थित सिट नम्बर १०२–११०६–२२ कित्ता नम्बर ४४६ को सरकारी जग्गा हडपेर ५ वटा सटर हाली भाडा खाइरहेका महर्जनले पर्यटनमन्त्री श्रेष्ठले ताकेता गरेपछि आफैं हटाएका हुन् ।

पर्यटनमन्त्री श्रेष्ठ आफ्नो क्षेत्रमा सरकारी जग्गा हडपेर बनेका संरचना हटाउने अभियानमा लागेको लामो समय भएको छ । अष्टमानले वरिपरि सबैले संरचना बनाएपछि आफूले पनि बनाएको र राज्यले आग्रह गरेपछि हटाएको स्पष्टीकरण दिएका छन् । आफ्नो अभियानमा साथ दिएको भन्दै पर्यटनमन्त्री श्रेष्ठले उनलाई खादा ओढाएर सम्मान गरेका हुन् । त्यहीं कित्ताको जग्गा हडपेर सटर हाली भाडा खाने युवराज प्रसाई भने ठूलो कुरा गर्दै बसिरहेका छन् ।

इन्द्रकुमार चाम्लिङ, हेमराज घिसिङ डा. राजेश अहिराज झा पनि सरकारी जग्गामा संरचना बनाएर अटेरी गरेर बसिरहेका छन् । उनीहरूले सरकारी जग्गा हडपेर बनाएको अवैध संरचनामा चाँडै डोजर लगाइने पर्यटनमन्त्री श्रेष्ठले स्पष्ट पारेका छन् । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र पर्यटनमन्त्री श्रेष्ठ देवीनगरमा सरकारी जग्गा हडपेर बनाइएका अनधिकृत संरचनामा डोजर लगाउन अग्रसर भएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot